मध्यरातमा हुँदै छ धमाधम विमानस्थल विस्तार, काम सम्पन्न भएपछि २० देखि २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि हुने क्यानको अनुमान
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारको काम १४ प्रतिशत सकिएको छ । गत २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारको काम सुरु गरिएको छ । आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको ट्याक्सी–वे विस्तारमा हालसम्म करिब १४ प्रतिशत प्रगति भएको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ भन्छन्–
फिल्डमा एक सय ५० देखि दुई सय मजदुरहरू काम गरिरहनुभएको छ, अहिले खाल्डो खन्ने, माटो भर्नेलगायतका काम भइरहेका छ । समयमै काम सम्पन्न गर्नैपर्ने बाध्यता छ, सोहीअनुसार उच्च गतिमा काम भइरहेको छ । २७ मिटरसम्म गहिरो खोँचमा माटो फिलिङ गरेर एप्रोन निर्माणकार्य जारी छ । एप्रोन निर्माण अन्तिम चरणमा पुग्न थालेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ । धावनमार्गबाट ७५ मिटरभन्दा बाहिर पर्ने अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी–वेलगायतका काम यसअघिदेखि नै निर्माण भइरहेका थिए । अहिले ७५ मिटरभित्र पर्ने ट्याक्सी–वे विस्तारका लागि उडान–अवतरण बन्द गर्नुपरेको आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए । ‘फिल्डमा एक सय ५० देखि दुई सय मजदुरहरू काम गरिरहनुभएको छ, अहिले खाल्डो खन्ने, माटो भर्नेलगायतका काम भइरहेका छन्,’ उनले भने, ‘समयमै काम सम्पन्न गर्नैपर्ने बाध्यता छ, सोहीअनुसार उच्च गतिमा काम भइरहेको छ ।’
मध्यरातमा हुँदै छ धमाधम काम
सधैँ मध्यरातसम्म चहलपहल हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन सोमबार राति साढे १० बजे नै सुनसान भइसकेको थियो । त्यहाँ न कुनै यात्रुहरू थिए, न यात्रुलाई लिन वा छाड्न आएका आफन्त नै ।
रातको दुई बजेसम्म अन्तर्राष्ट्रिय उडानहरू हुने विमानस्थलमा रातिसम्मै यात्रु र यात्रुका आफन्तले टर्मिनल भवन भरिभराउ हुन्थे । तर, २३ कात्तिकदेखि त्रिभुवन विमानस्थल राति १० बजेपछि सुनसान हुन थालेको छ । यात्रुको चाप भने नौ बजेदेखि नै कम हुने विमानस्थलका कर्मचारी बताउँछन् ।बाहिरका ट्याक्सी–मोटरसाइकल पार्किङ क्षेत्र, टर्मिनल भवनलगायत सुनसान बन्दै जाँदा विमानस्थलभित्रको एयर स्पेस क्षेत्रमा भने चहलपहल बढ्न सुरु हुन्छ । मध्यरातमा विमानस्थल बन्द गरेरै समानान्तर ट्याक्सी वे, उत्तरतर्फ (पशुपति क्षेत्र) इन्टरनेसनल एप्रोन, पूर्वतर्फ ह्यांगर एप्रोन, साउथतर्फ (कोटेश्वरतर्फ) ट्याक्सी–वे विस्तारका काम भइरहेका छन् ।
सोमबार राति साढे १० बजे पर्यटनमन्त्री बद्री पाण्डेसहित अवलोकनका लागि विमानस्थलको धावनमार्ग क्षेत्रमा पुग्दा त्यहाँ ठुलो संख्यामा कामदार, दर्जनौँ स्काभेटर, डोजर, लोडर, टिपरले काम गरिरहेको देखिन्थ्यो ।
१८ चैतसम्म धावनमार्गबाट ७५ मिटर दूरीमा पर्ने सबै संरचना निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । ‘१० घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीव्र गतिमा सबै साइडमा भइरहेको देखियो,’ विमानस्थल अवलोकनमा पुगेका मन्त्री पाण्डेले पत्रकारसँग भने, ‘१८ चैतभन्दा पहिला नै निर्माण सम्पन्न हुन्छ कि भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले देखाएको छ ।’
विमानस्थलको उत्तरतर्फ पुग्दा धमाधम अन्तर्राष्ट्रिय एप्रोन निर्माण भइरहेको थियो । त्यहाँ ६ वटा वाइडबडी र ६ वटा न्यारोबडी जहाज पार्किङ गर्न मिल्नेछ । २७ मिटरसम्म गहिरो खोँचमा माटो फिलिङ गरेर एप्रोन निर्माण कार्य जारी छ । एप्रोन निर्माण अन्तिम चरणमा पुग्न थालेको परियोजना प्रमुख श्रेष्ठले बताए । एप्रोन क्षेत्र ७५ मिटरभन्दा बाहिर पर्ने हुँदा दिनरात काम भइरहेको छ ।
विमानस्थलको दक्षिण–पश्चिमतर्फ धावनमार्गसँग समानान्तर हुने गरी ट्याक्सी–वे, धावनमार्ग प्रवेश गर्ने ट्याक्सी–वे र विमानस्थलको पूर्वतर्फ ‘ह्यांगर एप्रोन’लगायत विस्तारका काम भइरहेका छन् । क्षमता विस्तारको काम सम्पन्न हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २० देखि २५ प्रतिशत क्षमता अभिवृद्धि हुने क्यानको अनुमान छ ।
विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत तीन हजार मिटरको धावनमार्ग विस्तार गरेर ३३ सय मिटरभन्दा लामो बनाइएको छ । चारवटा ठूला जहाज अटाउने अन्तर्राष्ट्रिय एप्रोन पनि तयार भइसकेको छ । अहिले त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक जहाज पार्किङ क्षमता छ । यी काम पूरा गर्न करिब १५ अर्ब रुपैयाँ खर्च लाग्नेछ ।
फिल्डमा एक सय ५० देखि दुई सय मजदुरहरू काम गरिरहनुभएको छ, अहिले खाल्डो खन्ने, माटो भर्नेलगायतका काम भइरहेका छ । समयमै काम सम्पन्न गर्नैपर्ने बाध्यता छ, सोहीअनुसार उच्च गतिमा काम भइरहेको छ । २७ मिटरसम्म गहिरो खोँचमा माटो फिलिङ गरेर एप्रोन निर्माणकार्य जारी छ । एप्रोन निर्माण अन्तिम चरणमा पुग्न थालेको छ ।