नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले हालै सम्पन्न उपनिर्वाचन परिणामले आफ्नो दलको पक्षमा जनमत बढेको पुष्टि भएको बताएका छन्।
पार्टीको गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई मंगलबार सम्बधोन गर्दै पुनले फरक विचार, नीति र जनताको प्रवृत्ति बोक्ने दलका रूपमा आफूहरूलाई जनमतले अनुमोदन गरेको बताए। कांग्रेस र एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै फैलाएको गलत अफवाहलाई जनताले खारेज गरेको उनको भनाइ थियो।
‘हामी कसैले कसैसँग तालमेल नगरी एक्लै चुनावमा जान सक्दैनौँ भन्ने गलत भाष्य स्थापित गर्ने कोसिस भएको थियो,’ पुनले भने, ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौँ। उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन्। हामीले आफ्नो जनमत देखाएका छौँ।’
विगतका केही निर्वाचनमा तालमेल गर्दा कांग्रेस र एमालेले आफूहरूको मत लिएको, तर आफूहरूलाई मत नदिएको पनि यो निर्वाचनले पुष्टि गरेको उनले बताए। उनले कांग्रेस र एमालेको जनमत घटेको र आफूहरूको बढेको दाबी गरे। जितेका ११ ठाउँबाहेकमा पनि धेरै स्थानमा आफ्नो दल दोस्रो भएकाले त्यो पुष्टि हुने तर्क पुनको थियो। निर्वाचन परिणामले वर्तमान व्यवस्थालाई बहुदलीयबाट दुईदलीय व्यवस्थामा लैजाने र पालौलापो जनतालाई शासन गर्ने कांग्रेस–एमाले महत्त्वकांक्षामा धक्का लागेको उनले बताए। ‘अब त्यो सम्भव छैन। बहुदलीय प्रतिस्पर्धा हुन्छ। माओवादीलाई माइनस गरेर जान तपाईंहरूले सक्नुहुन्न,’ पुनले भने।
पुनले जनताले एक्लै निर्वाचनमा जाँदा आफूहरूलाई विश्वास गरेको भन्दै उनले पार्टी केन्द्रीय समितिबाट आगामी दिनमा स्थानीय तह तथा संघ र प्रदेशको निर्वाचनमा कसैसँग तालमेल नगर्ने निर्णय यसअघि नै भएको स्मरण गराए।
आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचार, बेथिति, बिचौलियातन्त्र र राज्य दोहनविरुद्ध काम गरेका कारण पनि जनता आफूहरूतिर आकर्षित भएको उनको भनाइ थियो।
पुनले आफूहरूको ध्यान सरकारमा नभएको भन्दै ०८४ सम्म मिलेर सरकार चलाउन कांग्रेस–एमालेलाई आग्रह गरे। ती दलका नेताले आफ्नो महत्त्व बढाउन माओवादी सरकार ढाल्ने खेलमा लागेको भन्दै टिप्पणी गरेको भन्दै उनले सरकारबाहिरै बसेर जनताको सेवा गर्ने उल्लेख गरे। आफूहरू सरकार ढाल्ने खेलमा नलागेको र नलाग्ने चर्चा गर्दै पुनले विगतका चार महिनामा जसरी नै भ्रष्टाचारी, बिचौलिया र दलालहरूको सेवा गरिरहे यो सरकारलाई जनताले सडकबाटै ढाल्ने दाबी गरे। ‘तपाईंहरूको विचार, व्यवहार, शैली र प्रवृत्ति मिल्छ। तपाईंहरू मिलेरै सरकार चलाइराख्नुस्,’ पुनले भने, ‘हामीलाई सरकार चाहिएको छैन। अहिले जसरी नै भ्रष्टाचारी, बिचौलिया, दलालहरूको सेवा गरिराख्नुभयो भने तपाईंहरूलाई कुनै दिन जनताले सडकबाट गलहत्याउँछन्।’
फरक प्रसंगमा पुनले ०५१ को मध्यावधि निर्वाचनमा एकपटक प्रतिनिधिसभा सदस्य ०७४ मा माओवादी समर्थनमा प्रदेश सभामा बाहेक कहिल्नै चुनाव नजितेका एमाले महासचिव शंकर पोखरेलले आजीवन चुनाव नहारेका आफ्ना अध्यक्ष पुष्पकमल दाहाललाई हरुवा भनेकामा आपत्ति जनाए।
‘०५१ मा एकपटक र ०७४ मा हामीसँग मिलेर प्रदेश सभामा जितेबाहेक जीवनमा कुनै पनि चुनाव नजितेका व्यक्तिले ०६४ देखिका हरेक चुनावमा जित्दै आउनुभएका हाम्रा अध्यक्षलाई हरुवा भन्न लाज लागेन? आफ्नो हैसियत हेरेर बोल्ने गर्नुस्,’ पुनले भने।