पत्रकार महासंघको प्रदेश र जिल्ला शाखामा तालाबन्दी

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल पत्रकार महासंघको बागमती प्रदेश तथा मकवानपुर र पर्सा शाखामा तालाबन्दी भएको छ। बागमती प्रदेश र मकवानपुर जिल्ला शाखामा प्रेस चौतारी नेपाल मकवानपुरले ताला लगाएको हो। पर्सा शाखाको कार्यालयमा प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र मधेशी पत्रकार समाजले तालाबन्दी गरेका हुन्।

नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा असहमति जनाउँदै प्रदेश र जिल्ला शाखामा तालाबन्दी भएको हो।

प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले केन्द्रले सार्वजनिक गरेको सदस्यतामा मकवानपुरका क्रियाशीलता पत्रकारलाई बाहिर राखेर गैरपत्रकारहरूलाई सदस्यता दिइएकाले विरोधस्वरूप तालाबन्दी गरेको बताए। केन्द्रले गलत निर्णय गरेको भन्दै उनले सो निर्णय नसच्याएसम्म तालाबन्दी जारी रहने उनको भनाइ छ।

महासंघले मंसिर २८ गतेका लागि तोकेका निर्वाचनसमेत यही अवस्थामा वैज्ञानिक, वैधानिक र व्यावहारिक नहुने प्रेस चौतारी मकवानपुरको ठहर छ।

फर्जी पत्रकारको सदस्यता खारेज हुनुपर्ने, सदस्य हुनबाट वञ्चित गरिएका सक्रिय पत्रकारहरूलाई तुरुन्त सदस्यता दिनुपर्नेलगायतका माग गरिएको छ। 

यसअघि सदस्यताको विषयलाई लिएर प्रेस युनियन मकवानपुरले पनि महासंघको जिल्ला र प्रदेश शाखामा तालाबन्दी गरेको थियो। प्रेस युनियनले जिल्ला शाखामा लगाएको ताला केही दिनअघि खोलिसकेको छ भने प्रदेश शाखाको तालाबन्दी जारी छ।

यता, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारी विजयले केन्द्रले सार्वजनिक गरेको सदस्यतामा जिल्ला र प्रदेशबाट सिफारिस नै नभएका पत्रकारहरूलाई सदस्यता दिइएकाले तालाबन्दी गरेको बताए।

सुझावित समाचार