०६२ सालमा २७ जना महिलाले मासिक १६० रुपैयाँ बचत गरेर अमर कल्याण जन्माए । महिलाहरूले नै नेतृत्व लिए । सेयर सदस्यदेखि कर्मचारी पनि महिला नै छन् । महिला नै महिला भएको अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको पुँजी अहिले सात करोड ५३ लाख ३१ हजार ६३९ पुगेको छ । स्थापना भएको करिब दुई दशकमा सदस्य बढेर ८५८ र बाल सदस्य १७२ पुगेका छन् ।
अल्पकालीन आश्रय र न्यायमा सहजीकरण
सहकारीले संस्थामा आबद्ध महिलालाई एकीकृत गरेर आर्थिक क्रियाकलापमार्फत अर्थोपार्जनमा सबलीकरण मात्रै गरेको छैन । सामाजिक सेवा केन्द्रमार्फत जिल्लाभरका लैंगिक हिंसापीडित महिला, बेवारिसे बालबालिकाहरूलाई अल्पकालीन आश्रय तथा न्यायमा सहजीकरण गरिरहेको छ । गत वर्ष मात्रै विभिन्न मुद्दाका ३६ जनालाई १८४ दिन निःशुल्क आश्रय दिएको अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापक अन्जु पन्थीले बताइन् ।
सहकारीले रेसुंगा नगरपालिकाको ग्रामीण बस्तीहरूमा पछि परेका विपन्न महिलालाई बचतको बानी पार्नुको साथै न्यून ब्याजदरमा कर्जा प्रवाह, सस्तो मूल्यमा रासायनिक मल वितरण गरी कृषकलाई राहत दिएकोे पन्थीले जानकारी दिइन् । साथै सहकारीले स्थानीय स्तरमा उत्पादित वस्तु खरिद–बिक्री तथा प्रशाेधन कार्य गर्दै आएको छ ।
अमर कल्याणमा नयाँ नेतृत्व
अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा गीता पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको छैटाैँ अधिवेशनबाट उपाध्यक्षमा विष्णुमाया श्रीस, सचिवमा दीपा ज्ञवाली पन्थी, कोषाध्यक्षमा सुन्धारा गैरे निर्वाचित भएका छन् । सदस्यहरूमा सिर्जना पन्थी, विष्णु थापा कुँवर, लक्ष्मी पोखरेल मरासिनी, पार्वती थापा र सकुन्तला थापा रहेका छन् । त्यस्तै, रस्मिता भण्डारीको संयोजकत्वमा लेखा सुपरिवेक्षक समिति गठन भएको छ ।
सदस्यहरूमा कमला थापा र विमला श्रेष्ठ रहेका छन् । अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ साधारणसभा तथा छैटाैँ अधिवेशनमा प्रमुख अतिथि रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले उद्घाटन गरेकी थिइन् ।
ज्येष्ठ नागरिकदेखि उत्कृष्ट कृषक र व्यवसायीलाई सम्मान
अमर कल्याण महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको १९औँ साधारणसभा तथा छैटाैँ अधिवेशनको अवसरमा ज्येष्ठ नागरिकदेखि उत्कृष्ट कृषक र व्यवसायीलाई सम्मान गरिएको छ । कार्यक्रममा सेयर सदस्यका छोराछोरीहरूमध्येबाट सामुदायिक विद्यालयबाट एइई र प्लस टुमा उत्कृष्ट अंक ल्याउने पाँचजना विद्यार्थी, उत्कृष्ट कृषक र उत्कृष्ट व्यवसायीलाई सम्मान गरिएको छ ।
त्यस्तै, ज्येष्ठ नागरिक सदस्यहरू सातजना, संस्थापक सदस्य, रेसुंगा नगरपालिका ९ नम्बर वडा कार्यालय, दुईजना पत्रकार र पूर्वकर्मचारीलाई सम्मान गरिएको संस्थाको तत्कालीन सचिव जुना विश्वकर्माले बताइन् ।