दुध बेचेर वार्षिक ३० लाख आम्दानी

मंगलबार, १८ मंसिर, २०८१
डिजिटल संस्करण

बागलुङ नगरपालिका– १४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ । अहिले उनले दुध बिक्री गरेर वार्षिक रु. ३० लाख आम्दानी गर्दै आएका छन्।

दैनिक एक सय लिटरभन्दा बढी दुध उत्पादन गरेर बिक्री गर्ने अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन् । ०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको फार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौवटा गाई छन् ।

६ वर्ष साउदी अरब, ११ महिना सिंगापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरेका थिए । व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुनः विदेश (जापान) जाने  योजना उनले बनाएका थिए ।

जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुनः गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनुपरेको छैन । बस्नेतलाई उनकी श्रीमती अप्सराको दरिलो साथ छ । २० वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेतदम्पतीले मिलेर गर्ने गरेका छन् ।

दैनिक एक सयदेखि १२० लिटरसम्म दुध उत्पादन गर्दै आएका बस्नेतले मासिक रु. दुई लाख ५० हजारभन्दा बढी आम्दानी हुने गरेको बताए ।

भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिएका उनले बिक्री भएर बाँकी रहेको दुधबाट खुवा र पनिर बनाएर बेच्ने गरेको जानकारी दिए ।

बस्नेतले उत्पादन गरेको दुध नजिकैको नारायणस्थान बजारमा बेच्ने गरेको बताउँदै बजारीकरणको समस्या नरहेको उल्लेख गरे । चैत–वैशाखमा १२० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दुध गाउँमा बिक्री हुने गरेको उनको भनाइ छ । गाउँमा बिक्री भएर रहेको दुध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेको उनले जानकारी दिए।

सुझावित समाचार