नेपाल प्रहरीका आठजना डिआइजीमा बढुवा, एसएसपीका २० पद रिक्त

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

नेपाल प्रहरीका आठ प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)को प्रहरी नायब महानिरीक्षक(डिआइजी)मा बढुवा भएको छ। एक साताअघि बढुवा समितिबाट बढुवा सिफारिस भएका एसएसपीहरूको गृहमन्त्रीस्तरको निर्णयबाट सोमबार बढुवा भएको हो। 

बढुवा हुनेमा ध्रुवराज राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक छन्। उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार नै प्रहरी प्रधान कार्यालयमा दर्ज्यानी चिह्न प्रदान गरेका छन्।   

दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा महानिरीक्षक कुँवरले पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको  बताए। उनले भने, ‘राज्य र संगठनले तपाईंहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवं निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनुहुनेछ भनी विश्वास लिएको छु।’

संगठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न सिर्जनशील प्रयासबाट संगठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र सांगठनिक सुदृढीकरण र संगठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिबद्ध रहन उनले निर्देशन दिएका छन्।   

बढुवा भएका डिआइजीहरूको पदस्थापन भने भएको छैन। डिआइजीमा बढुवासँगै नेपाल प्रहरीका एसएसपीका २० पद रिक्त भएका छन्। 

सुझावित समाचार