काठमाडौंमा तीन दिनमा सकियो रवि लामिछानेको बयान, चितवन लैजाने प्रहरी तयारी

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

सहकारीको पैसा गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको काठमाडौंमा बयान सकिएको छ। काठमाडौंमा प्रहरीले तीन दिन उनको बयान लिएको छ। 

गत बिहीबार पोखराबाट उनलाई काठमाडौं ल्याइएको थियो। शुक्रबार, आइतबार र सोमबार उनको जिल्ला सरकारी वकिल कार्यालयमा बयान भएको हो।

लामिछानेको सोमबार बयान सकिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। लामिछानेलाई मंगलबार पोखरा वा चितवन पठाउने प्रहरी तयारी छ।

‘मंगलबार पोखरा पठाउने कि चितवन भन्ने तय भइसकेको छैन,’ काठमाडौं परिसरका एक अधिकारीले भने,‘पोखरा पठाइए पनि केही दिनमै चितवन लैजाने तयारी छ।’ चितवनको सहारा सहकारीको रकम हिनामिनामा पनि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। 

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीबाट गैरकानुनी रूपमा रकम गोर्खा मिडियामा लगेर खर्च गरिएको विषयमा लामिछानेमाथि काठमाडौंमा अनुसन्धान भएको हो। गोर्खा मिडियाको सञ्चालक हुँदा सो रकम खर्च गर्ने भूमिकामा लामिछाने पनि थिए।

सोही आधारमा उनीविरुद्ध काठमाडौंमा समेत मुद्दा दायर गर्न लागिएको छ। लामिछानेले सो कम्पनीको प्रबन्ध निर्देशक भएकाले चेकमा हस्ताक्षर गरेर खर्च गरेको, तर पैसा सहकारीबाट आएकोबारे जानकारी नभएको दाबी गर्दै आएका छन्।

स्वर्णलक्ष्मी सहकारी गीतेन्द्रबाबु (जिबी) राईकै समूहले चलाएको थियो। गोर्खा मिडियाका अध्यक्ष पनि राई नै हुन्। उनले विभिन्न पाँच सहकारीको रकम गोर्खा मिडियालगायत विभिन्न कम्पनीमा लगेर दुरुपयोग गरेका थिए। त्यसमा उनका कम्पनीका सञ्चालकहरूलाई समेत हाल प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ।

संसदीय छानबिन समितिले सहकारीबाट पैसा ल्याउने क्रममा लामिछानेको भूमिका नभएको, तर खर्च गर्ने भूमिकामा रहेको उल्लेख गरेको छ। प्रहरीले संगठित अपराधसहित ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ।

कास्की र रुपन्देहीमा प्रहरीले उनको बयान लिइसकेको छ। पर्सास्थित सानो पाइला सहकारीबाट गोर्खा मिडियामा पैसा गएको देखिएपछि त्यहाँ पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। 
 

सुझावित समाचार