पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छिन। उनले नेपाली कांग्रेस र नेकपा एमालेको साझा उम्म्मेदवार केशकुमारी तुलाचनलाई एक हजार ४९९ मतले पछि पार्दै विजयी भएकी हुन्।
विजयी नरपुरा बुढाले तीन हजार ६२७ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको तर्फबाट केशकुमारी तुलाचन दुई हजार १२८ मत प्राप्त गरेको सहायक जिल्ला निर्वाचन अधिकृत ईश्वरी सुवेदीले जानकारी दिएका छन्।
रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा जम्मा १४ वडा रहेका छन्। जसमा १९ मतदानस्थल र २५ वटा केन्द्र रहेका थिए। जम्मा ११ हजार १८० मतदाता रहेको पुथाउत्तरगंगा गाउँपालिकामा उपनिर्वाचनमा मंसिर १६ गते अर्थात् हिजो भएको मतदानमा जम्मा पाँच हजार ९३१ (५३.०५) प्रतिश्त मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय रुकुम पूर्वले जनाएको छ।
२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट भूपेन्द्रा बुढाले चार हजार ६१ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्नतिद्वन्द्वी नेपाली कांग्रेसको उम्मेदवार कमलाकुमारी मल्लले दुई हजार १० मत प्राप्त गरेकी थिइन् भने नेकपा एमालेको तर्फबाट धर्म घर्ती बुढाले एक हजार ८१२ मत प्राप्त गरेकी थिइन्। विजयी स्व. भूपेन्द्रा बुढाको २०८१ साल भदौ २८ गते बाग्लुङमा भएको जिप दुर्घटनामा ज्यान गएको थियो।