भ्रष्टहरूको संरक्षण गर्दागर्दै सरकार संकटग्रस्त : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको वर्तमान सरकार भ्रष्टहरूको संरक्षण गर्दागर्दै चल्न नसक्ने अवस्थामा पुगेर आफैँ संकटग्रस्त भएको बताएका छन् । 

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सोमबार बिहान सिराहाको गोलबजार नगरपालिका– ३ मुसहर्नियामा माओवादी केन्द्र गोलबजार नगर समितिद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै दुई ठुला दलको गठबन्धन सरकार भ्रष्टाचारीहरूको संरक्षण गर्ने र विकासको गतिलाई रोक्ने कार्यमा उद्यत् रहेको आरोप लगाए । ‘त्यसको पछिल्लो उदाहरण कोशी प्रदेशका एकजना मन्त्री हुन्,’ उनले भने, ‘युवाहरूलाई लिएर तिनकै खर्चमा जापान जाने, कानुनी कारबाहीचाहिँ मन्त्रीसँगै गएका युवाहरूले मात्र भोग्नुपर्ने ?’ यसले सरकारको स्वेच्छाचारिता छरपस्ट भएको उनले बताए । 

‘सरकारको नियत उदांगियो’ 

‘एउटा अदालतले सजाय र बिगो तोकिसकेको, अनि अर्को अदालतमा मुद्दा विचाराधीन रहेको व्यक्तिबाट अर्बौँ मूल्यको जग्गा सरकारको नेतृत्व गरेको पार्टीको कार्यालय निर्माणका लागि लिएको घटनाले पनि सरकारको नियत उदांगो भएको छ,’ उनले भने, ‘हाम्रो पार्टी सरकार ढाल्ने र बनाउने खेलमा छैन ।’ माओवादी केन्द्र प्रधानमन्त्री, मन्त्री बन्नका लागि मात्र सरकारमा जाने मनसायमा नरहेको दाबी गर्दै उनले भने, ‘तर, देश र जनताको पक्षमा काम गर्ने वातावरण बनेको खण्डमा चाहिँ सरकारमा जान नसकिने होइन ।’

पार्टी निर्माण र सुदृढीकरण अभियान
 

पार्टी अब सरकारमा भन्दा पनि पार्टी संगठन विस्तार, निर्माण र जागरणको काममा सक्रिय रहने चर्चा गर्दै उनले देशैभर स्कुलिङ र प्रशिक्षणको कामहरू, ठुला कार्यक्रमहरूको आयोजनामार्फत जनता सचेत गर्दै पार्टी निर्माण र सुदृढीकरणमा जुट्ने सुनाए । १९ मंसिरसम्म चल्ने कार्यक्रमको पहिलो दिन सोमबार उपाध्यक्ष श्रेष्ठसहित उपमहासचिव गिरिराजमणि पोखरेल, स्थायी समिति सदस्यद्वय पर्शुराम तामाङ, विश्वनाथ साहले विभिन्न विषयमा प्रशिक्षण दिने आयोजकले जनाएको छ । 

जिल्लाका १७ वटै स्थानीय तहका १५० र आयोजकसहित करिब दुई सयजनाको सहभागिता रहेको प्रशिक्षण कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था सुदृढीकरणका लागि  भावी योजना, समसामयिक राजनीतिक मुद्दा र विचारधारात्मक क्षेत्रमा कार्यकर्ताहरूलाई प्रशिक्षित गरिने नगर अध्यक्ष जीवन यादवले बताए । 

सुझावित समाचार