महाराजगन्जस्थित गंगालाल हृदय केन्द्रमा फार्मेसीका लागि पर्याप्त फर्मासिस्ट भए पनि करारका कर्मचारीमाथि श्रमशोषण भएको पाइएको छ । अस्पतालका दुईवटा फार्मेसीमा २० जना फर्मासिस्ट कार्यरत छन् । तैपनि करारका पाँच कर्मचारीमाथि श्रमशोषण भएको पाइएको हो ।
सामान्यतया बिरामीको चापअनुसार दिउँसोको समयमा सातदेखि आठ घण्टा र रातिको समयमा १२ घण्टासम्म ड्युटीको समय अस्पतालले छुट्याएको छ । जसमा रातिको समयमा अनिवार्य दुईजनालाई ड्युटीमा राख्नुपर्ने हुन्छ । तर, अस्पतालले करारका फर्मासिस्टलाई ‘सिंगल नाइट’ अर्थात् एकजनालाई मात्र ड्युटीमा खटाउने गरेको छ । हप्तामा दुईपटकसम्म एउटै कर्मचारीलाई लगातार ड्युटीमा खटाउँदा आफूहरूलाई काम गर्नै समस्या भइरहेको कर्मचारीहरूको गुनासो छ । ड्युटीको तालिका परिवर्तन गरिदिन आग्रह गर्दा उल्टै धम्की आउने गरेको फर्मासिस्टहरूले गुनासो गरेका छन् । ‘लामो समयसम्म विनाआराम काम गर्दा स्वास्थ्यमै समस्या देखिन थालेपछि पटक–पटक इन्चार्जलाई ड्युटी मिलाइदिन आग्रह गरिरहेका छौँ । तर, तिमीहरूलाई रातिकै समयमा काम गर्न ल्याएको र गुनासो गरेमा झन् गाह्रो हुन सक्छ भन्दै इन्चार्जबाटै धम्की आउँछ । हामीले गुनासो गरेपछि हप्तामा दुईपटकसम्म सिंगल नाइट राखिदिएका छन्,’ एक फर्मासिस्टले भने ।

अस्पतालमा पर्याप्त कर्मचारी भए पनि कतिपयलाई रातिको समयमा ड्युटी नै नभएको र करारका कर्मचारीलाई भने दुईपटकसम्म ड्युटी र दिउँसो पनि ड्युटी हुँदा समस्या भइरहेको उनीहरूको भनाइ छ । सामान्यतया स्थायी कर्मचारीलाई ड्युटी नै गर्न नपर्ने र करारका कर्मचारीलाई लगातार काममा खटाउने गरिएको छ । मन नपरेका कर्मचारीलाई काममा खटाउने प्रवृत्तिले आफूहरू समस्यामा परेको करारका कर्मचारीहरूको भनाइ छ ।
हप्तामा ४८ घण्टा नपुग्ने भएकाले तालिका मिलाइएको दाबी
वर्षौँदेखि रातिको समयमा एकजनाले मात्र काम गर्दै आइरहेको र फर्मासिस्टलाई राति ड्युटीमा नराख्दा हप्तामा ४८ घण्टा नपुग्ने भएकाले तालिका मिलाइएको फार्मेसी इन्चार्ज मधु गिरीले बताइन् । ‘फर्मासिस्टको दरबन्दी नै सीमित भएकाले पहिलेदेखि नै रातको समयमा एकजनालाई मात्र ड्युटीमा राख्दै आएका छौँ । सबै कर्मचारीले पहिलेदेखि नै यसरी नै काम गर्दै आएका हुन् । हामीकहाँ कामको ओभरलोड वा काम गर्नै नसकिने वातावरण छैन । तर, अहिले केही गुनासो आएपछि फार्मेसीमा मात्र नभई अन्य विभागमा पनि सोही तालिकाअनुसार ड्युटी तोकिएको छ,’ उनले भनिन् ।
तर, जनशक्ति अभावमा स्वास्थ्यकर्मीहरूले तोकिएभन्दा धेरै ड्युटी गर्नुपरेको गुनासो बारम्बार आउने गरेको छ । कुन समयमा आवश्यकताअनुसार कति जनशक्ति आवश्यक छ भन्ने यकिन नहँुदा र जनशक्तिको अभावलगायत कारणले कामको समय निर्धारण हुन नसकेको विज्ञहरूले बताउँदै आएका छन् । बिरामीको चाप अत्यधिक रहेका अस्पतालका फार्मेसीमा रातिको समयमा कम्तीमा दुईजना ड्युटीमा हुनुपर्ने वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईं बताउँछन् । ‘स्वास्थ्यकर्मी वा फर्मासिस्टको हकमा कामको समय छुट्टै निर्धारण गरिएको छैन । स्वास्थ्यकर्मीको हकमा पनि श्रम ऐनअनुसार नै दैनिक आठ घण्टा समय लागू हुन्छ । योबाहेक अस्पतालहरूले फर्मासिस्टहरूलाई काम गर्नै अप्ठ्यारो हुने गरी काममा लगाइरहेका छन् भने श्रमशोषण नै हो,’ उनले भने ।
अस्पताल वा स्वास्थ्य संस्थामा बिरामीको चाप र शड्ढयाका आधारमा आवश्यक जनशक्ति निर्धारण गरिए पनि कामको समय भने छुट्याइएको छैन । अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ ले अस्पतालको क्षमताअनुसार फर्मासिस्टको संख्या तोकेको छ । जसमा बिरामीको चापका आधारमा फर्मासिस्ट थप वा घटाउन सक्नेसमेत छुट दिएको छ । निर्देशिकाको दफा १० को ४ मा सयभन्दा बढी शड्ढयामा सञ्चालनमा रहेका अस्पतालमा क्लिनिकल फर्मासिस्ट एक, फर्मासिस्ट तीन, फार्मेसी सहायक ६ र अन्य सहयोगीका रूपमा दुई गरी १२ जना राख्न पाउने व्यवस्था गरेको छ । ५१ देखि सय शड्ढयाका अस्पतालमा सबै तहका फर्मासिस्ट गरी नौजना, २६ देखि ५० शड्ढयाका अस्पतालमा चारजना र १५ देखि २५ शड्ढयाका अस्पतालमा तीनजना फर्मासिस्ट राख्न पाउने व्यवस्था छ । तर, उफदफा ५ मा यो जनशक्तिबाहेक अस्पतालको शड्ढया, कार्यबोझ र दैनिक कारोबारका आधारमा जनशक्तिमा थपघट गर्नसक्नेसमेत उल्लेख गरेको छ । तर, कामको समयमा भने स्वास्थ्य संस्थालाई आफूखुसी काममा लगाउने छुट छ ।
नेपालको श्रम कानुनअनुसार दैनिक आठ घण्टा र हप्तामा ४८ घण्टा काम गर्न पाइने व्यवस्था छ । १८ वर्षमुनिको हकमा दिनको अधिकतम ६ घण्टा र हप्ताको ३६ घण्टा काम गर्न पाउँछन् । र, कर्मचारीहरूले कामका दौरान पाँच घण्टापछि केही समय आराम गर्न पाउँछन् । ब्रेक अर्थात् आरामको समयसमेत कम उमेरका कर्मचारी, गर्भवती महिला, तीन वर्षभन्दा कम उमेरका बच्चाको हकमा फरक हुन्छ । यसबाहेक आवश्यकताका आधारमा कर्मचारीले बढी समय पनि काम गर्न सक्छन् । तर, श्रम संहिताको दफा ३० अनुसार कर्मचारीलाई हप्तामा २४ घण्टाभन्दा बढी ओभरटाइम काम गर्न निषेध गरेको छ । यो व्यवस्था श्रमजीवी पत्रकार, नेपाली सेना, प्रहरी वा सुरक्षा बल, सिभिल सर्भिसमा काम गर्ने व्यक्ति र कम आय भएका क्षेत्रमा कार्यरत कर्मचारीबाहेक सबैमा लागू हुने व्यवस्था छ ।