सन् २०२४ मा १२ लाख विदेशी पर्यटक भिœयाउने सरकारी लक्ष्य पूरा नहुने देखिएको छ । जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा साढे १० लाख मात्र पर्यटक भित्रिँदा कोभिडपूर्वको अवस्थामा नफर्किने देखिएको हो ।
सन् ०१९ मा हालसम्मकै धेरै ११ लाख ९७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणका लागि आएका थिए । गत वर्ष ‘नेपाल भ्रमण दशक ‘०२३–३२’ घोषणा गर्दै सरकारले सन् २०२४ मा कोभिडपूर्वको अवस्थामा पर्यटक भिœयाउने र त्यसपछि वार्षिक १५ प्रतिशतका दरले पर्यटक वृद्धि गरी २०३२ सम्म वार्षिक ३५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको थियो । तर, सरकार आफैँले घोषणा गरेको भ्रमण दशकलाई अलपत्र पारेपछि १२ लाख पर्यटक भिœयाउने लक्ष्य हासिल नहुने देखिएको हो । सरकारले फेरि ‘भ्रमण दशक ०२५–०३४’ ल्याउन गृहकार्यमा जुटेको बताइएको छ ।
सन् २०२३ मा पर्यटक आगमनले सरकारी लक्ष्य भेटेपछि पर्यटन बोर्डले सन् २०२४ मा १३ लाख २० हजार पर्यटक भित्रिने अनुमान गरेको थियो । तर, अब डिसेम्बरमा करिब ७० हजार पर्यटक भित्रिने अनुमान बोर्डको छ । जसअनुसार २०२४ मा ११ लाख २५ हजार पर्यटक पुग्ने देखिन्छ ।
पर्यटक आगमन कोभिडपूर्वको अवस्थामा नफर्किए पनि अघिल्ला वर्षहरूको तुलनामा बढ्दै गइरहेका छन् । सन् २०२३ को ११ महिनाको तुलनामा सन् २०२४ को सोही अवधिमा पर्यटक आगमन १५ प्रतिशतले बढेका छन् । २०२३ को ११ महिनामा नौ लाख १८ हजार पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ ।
चिनियाँ पर्यटकको आगमन बढाउन नसक्दा पनि सरकारी लक्ष्य हासिल हुन नसकेको देखिन्छ । ११ महिनाको अवधिमा चिनियाँ पर्यटक एक लाख पनि भित्रिएका छैनन् । पर्यटन बोर्डका निर्देशक मणि लामिछाने भन्छन्, ‘भ्रमण दशक भए पनि प्रवद्र्धनात्मक कार्यक्रम नहुनु, पर्यटन बोर्डको अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन गर्ने कार्यविधि पास नहुँदा प्रवद्र्धनका काम रोकिनु, भारतीय पर्यटक सवार दुई बस ठुलो दुर्घटनामा पर्नु, दुईवटा हवाई दुर्घटना हुनु, देशैभर बाढीपहिरोको आतंक मचिनुले पनि पर्यटक आगमनमा अवरोध सिर्जना गरेको देखिन्छ ।’ भारतीय पर्यटक पनि अपेक्षित रूपमा बढ्न नसकेको उनको बुझाइ छ ।
नोभेम्बरमा भित्रिए एक लाख १४ हजार
यस वर्ष नोभेम्बर महिनामा एक लाख १४ हजार पाँच सय एक पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ । यो संख्या नोभेम्बर २०२३ सँग तुलना गर्दा ५.४० प्रतिशतले धेरै हो भने २०१९ नोभेम्बरको तुलनामा भने १२.२३ प्रतिशतले कम हो । नोभेम्बर २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक घुम्न आएको तथ्यांक छ । नोभेम्बरमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाटै भित्रिएका छन् । एक महिनामा भारतबाट १९ हजार नौ सय १५ पर्यटक भित्रिएका हुन्, जुन संख्या कुल पर्यटकको १३.११ प्रतिशत हो ।
धेरै पर्यटक भित्रिने दोस्रो देश अमेरिका बनेको छ । अमेरिकाबाट १० हजार नौ सय ८१ पर्यटक भित्रिएका छन् । यस्तै, चीनबाट नौ हजार चार सय ५८, युकेबाट ६ हजार ६ सय ११, बंगलादेशबाट पाँच हजार एक सय ४८, अस्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्यान्डबाट चार हजार ४६२, श्रीलंकाबाट चार हजार ३९५, जर्मनीबाट तीन हजार ९२६, फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भित्रिएको तथ्यांक छ ।
