सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण भइरहेको चार सय किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण ७० प्रतिशत सम्पन्न भएको छ । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोला–नालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो । सोही स्थानमा २२०÷१३२ केभी र १३२÷११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।
ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित चार सय केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् । पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचनाको निर्माणसम्पन्न गरी जडान भइरहेको छ । नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरू रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि उपकरणहरूको जडान सुरु हुनेछ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे । ‘चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती चार सय केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ,’ उनले भने, ‘हिउँदयाममा खिम्तीतर्फबाट काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप विद्युत् पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ, त्यसैले सबस्टेसन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रुत गतिमा अगाडि बढाऔँ ।’
खिम्ती–बाह्रबिसे प्रसारणलाइन माघभित्रै सकिने
खिम्ती, बाह्रबिसे र लप्सीफेदी चार सय केभी सबस्टेसन आयोजनाअन्तर्गत तीनवटा सबस्टेसन निर्माणाधीन छन् । तामाकोशी–काठमाडौं २२०÷४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४३ किलोमिटर प्रसारणलाइन निर्माण अन्तिम चरणमा छ । वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको समस्या, स्थानीयको अवरोधलगायतका समस्या झेल्दै आएको खिम्ती–बाह्रबिसे–काठमाडौं प्रसारणलाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको कार्यकारी निर्देशक घिसिङले बताए ।
खिम्ती–बाह्रबिसे प्रसारणलाइनमा पर्ने एक सय १८ वटा टावरमध्ये एक सय १७ वटा जग हालिएको छ । एक सय १५ वटा टावर खडा गरिएको छ । ३६ किलोमिटर तार तानिएको छ । बाँकी एउटा टावर निर्माणाधीन छ । खिम्ती–बाह्रबिसे खण्ड आगामी माघभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारणलाइन पनि निर्माणाधीन छ । ४६ किलोमिटर प्रसारणलाइनमा पर्ने एक सय २२ वटा टावरमध्ये एक सय १८ वटाको जग हालिएको छ । एक सय १७ वटा टावर खडा गरिएको छ । ४२ किलोमिटर तार तानिएको छ । बाँकी टावरको काम भइरहेको छ ।