थ्री स्टारसँग पराजित एनआरटी शीर्ष स्थानमै

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

थ्री स्टार क्लबसँग ३–० ले पराजित भए पनि न्युरोड टिम (एनआरटी) यू–१८ ललित स्मृति लिगको शीर्ष स्थानमा यथावत् छ । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा थ्री स्टारलाई जित दिलाउन न्युसन राई, विजय उराँव र रोमन श्रेष्ठले गोल गरे । तीनै गोल दोस्रो हाफमा भएका थिए ।

हारका बाबजुद एनआरटी समान खेलबाट २८ अंकका साथ शीर्ष स्थानमा छ । जितसँगै १४ खेलमा २६ अंक जोडेको थ्री स्टार तेस्रो स्थानमा उक्लिएको छ । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै एनआरटी १० खेलाडीमा समेटिएको थियो । पुकार गोलेले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेका थिए । त्यसको फाइदा उठाउँदै थ्री स्टार आक्रामक बन्यो । न्युसनको गोलमार्फत ५५औँ मिनेटमा थ्री स्टारले अग्रता लिएको थियो ।

निर्धारित समय सकिन आठ मिनेट बाँकी रहँदा विजयले टोलीको अग्रता दोब्बर बनाएका हुन् । इन्जुरी समयमा रोमनले गोल गर्दै थ्री स्टारलाई सहज जित दिलाए ।

एपिएफ र खुमलटारले अंक बाडे
आइतबार नै भएको खेलमा अग्रता जोगाउन नसक्दा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले एफसी खुमलटारसँग १–१ को बराबरी खेलेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपिएफका लागि आयुष फुयाँल तथा खुमलटारका लागि एलिक श्रेष्ठले गोल गरे । खेलको १७औँ मिनेटमा आयुषको गोलमार्फत एपिएफले अग्रता लिएको थियो ।

४८औँ मिनेटमा एलिकले खुमलटारका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने । बराबरीपछि दुवै टोलीले समान एक अंक बाढेका छन् । यो नतिजासँगै १४ खेलमा २२ अंक जोडेको एपिएफ पाँचौँ स्थानमा उक्लिएको छ । खुमलटार समान खेलबाट आठ अंकका साथ ११औँ स्थानमा छ । आइतबारका खेलसँगै १४औँ चरणका खेल सुरु भएका हुन् । १३औँ चरण सम्पन्न हुँदा एनआरटी पहिलो, १३ खेलबाट २६ अंक जोडेको नेपाल पुलिस दोस्रो, २४ अंकको संकटा तेस्रो स्थानमा छन् । मच्छिन्द्र एफसी २२ अंकसहित पाँचौँ स्थानमा रहँदा मनाङ मस्र्याङ्दी क्लबको २२ अंक छ । एपिएफको २१, जावलाखेलको १९, चर्च ब्वाइजको १५, त्रिभुवन आर्मी क्लबको ९ अंक छ ।

सुझावित समाचार