सुदूरपश्चिम विश्वविद्यालयमा कार्यरत उपप्राध्यापक पृथ्वीराज भट्टको कुटाइबाट श्रीमती जयन्ती भट्ट गम्भीर घाइते भएकी छिन् । श्रीमान्को कुटाइबाट जयन्तीको टाउको, हात, छातीमा गम्भीर चोट लागेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जयन्तीका आफन्त वसन्त भट्टले बताए ।
मदिरा सेवन गरेर फुपाजुले फुपूलाई कुटपिट गरेको टेलिफोनबाट थाहा पाएको उनले बताए । ‘शनिबार दिउँसोतिर फुपूमाथि निर्घात कुटपिट भएको रहेछ,’ उनले भने, ‘हामीले नै घाइते फुपूलाई महाकाली अस्पताल पु¥याएका हौँ, त्यहाँ उपचार सम्भव नभएपछि सेती अस्पतालमा उपचार भइरहेको छ ।’ घटनाकै दिन माइती पक्षले प्रहरीमा मौखिक तथा ठाडो निवेदन दिएका छन् । ‘दुनियाँलाई शिक्षा दिने शिक्षकले मदिरा सेवन गरेर मरणासन्न हुने गरी श्रीमतीमाथि कुटपिट गर्नु निन्दनीय छ,’ वसन्त भट्टले भने, ‘दोषीमाथि कानुनी कारबाही हुनुपर्छ ।’ जयन्तीमाथि पटक–पटक कुटपिट हुँदै आएको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले उपप्राध्यापक पृथ्वीराज भट्टविरुद्ध श्रीमती कुटपिट गरेको विषयमा ठाडो निवेदन परेको बताए । ‘घटनाको अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने, ‘कुटपिट गर्नेको खोजी भइरहेको छ ।’ कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले केही समयअघि मात्रै पृथ्वीराजले श्रीमती कुटपिट गरेको घटनाको मिलापत्र गरेको जानकारी दिए । ‘उहाँहरूले केही दिनअघि मात्रै पनि मिलापत्र गरेका थिए,’ उनले भने, ‘फेरि कुटपिटको घटना भएको छ ।’
महिला अधिकारकर्मी भगवती थापाले शिक्षकजस्तो पेसामा रहेका व्यक्तिले श्रीमतीलाई पटक–पटक कुटपिट गर्नु निन्दनीय भएको बताइन् । ‘कसैले पनि कसैलाई कुट्न मिल्दैन । प्राध्यापकजस्तो व्यक्तिले यस्तो गर्न सुहाउँदैन पनि । शिक्षकले विद्यालयमा हजारौँ विद्यार्थीलाई चेतना दिन्छन्, यो घटनाले अब हजारौँ विद्यार्थीले के सिक्ने ? यस्ता विषयमा समेत शिक्षक स्वयंले ध्यान दिनुपर्छ ।’