एसिसी यू–१९ एसिया कप : दोस्रो हारपछि नेपाल बाहिरियो

सोमबार, १७ मंसिर, २०८१
डिजिटल संस्करण

लगातार दोस्रो हारपछि नेपाल एसिसी यू–१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । आइतबार भएको दोस्रो खेलमा नेपाल टेस्ट राष्ट्र बंगलादेशसँग ५ विकेटले पराजित भयो ।

सुरुवाती ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा अलआउट हुँदै १४२ रनको लक्ष्य प्रस्तुत ग¥यो । प्रत्युत्तरमा बंगलादेशले २८.४ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो । लगातार दोस्रो जितपछि बंगलादेश र श्रीलंकाले एक खेलअघि नै सेमिफाइनलमा स्थान बनाएका छन् । दुवै टोलीको समान ४ अंक छ । नेट रनरेटमा श्रीलंका अगाडि छ ।

लगातार दोस्रो हारपछि अफगानिस्तान र नेपाल प्रतियोगिताबाट बाहिरिएका छन् । शक्ति गौचनको प्रशिक्षणमा रहेको नेपाल पहिलो खेलमा श्रीलंकासँग ५५ रनले पराजित भएको थियो । अब, अन्तिम खेलमा समूह विजेता बन्न श्रीलंका र बंगलादेश भिड्नेछन् । नेपाल र अफगानिस्तानबिचको खेल मंगलबार हुनेछ ।

आकाश, उत्तम र अभिषेकको मात्रै दोहोरो अंकमा रन
टस हारेर ब्याटिङ गरेको नेपालका लागि तीन खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाए । अन्य खेलाडी चल्न नसक्दा नेपाल सस्तैमा समेटिएको थियो । ओपनर आकाश त्रिपाठीले ७७ बलमा ५ चौकासहित सर्वाधिक ४३ रन बनाएका थिए । रनआउट भएका उत्तम मगर र अभिषेक तिवारीले समान २९ रन बनाएका हुन् । यसबाहेक ओपनर मायन यादवले ४, अर्जुन कुमाल शून्य, नरेन भट्ट ४, सन्तोष यादव ७, रोशन विश्वकर्मा २, नरेन साउद ४, कप्तान हेमन्त धामीले २ रन मात्रै बनाए ।

जवाफी ब्याटिङमा बंगलादेशका लागि ओपनर जावाद अब्रारले ६५ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाएका थिए । कप्तान अजिजुल हाकिमले ७२ बलमा दुई चौका र तीन छक्कासहित ५२ रनको योगदान गरेका हुन् । ओपनर कालम सिद्धिकी छैटौँ बलमा १ रन बनाउँदा आउट भएपछि जावाद र हाकिमले ९० रनको साझेदारी गरेका थिए । नेपालका युवराज खत्रीले एक्लैले चार विकेट हात पारेका थिए ।

सुझावित समाचार