फागुन अन्तिम साता नेपालगन्जमा लुम्बिनी कप महिला फुटबल हुने भएको छ । बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप आयोजना गर्ने भएको हो । नेपाली राष्ट्रिय महिला फुटबल टिमको पहिलो कप्तान रमा सिंह र वर्तमान कप्तान अन्जिला तुम्बाप्पो सुब्बाले संयुक्त रूपमा लुम्बिनी कपको लोगो सार्वजनिक गरेका छन् ।
लुम्बिनी कप महिला फुटबलको लोगोमा शान्तिका अग्रदूत गौतम बुद्ध, महिला फुटबल खेलाडीको आकृति र नेपाली राष्ट्रिय झन्डाको नीलो र सिम्रिक रातो रंग समेटिएको छ । फागुनको अन्तिम साता नेपालगन्ज रंगशालामा हुने लुम्बिनी कपमा नेपाल र भारतका आठ टिमको सहभागिता रहनेछ ।
महिला फुटबलको विकासमा प्रतियोगिता महत्त्वपूर्ण साबित हुने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । लुम्बिनी कप नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता हुनेछ । आगामी वर्षहरूमा सार्क देशका अन्य टिम पनि आमन्त्रण गर्ने उनले बताए ।
पश्चिम नेपालको गौरवको रूपमा सुरु गर्न लागिएको लुम्बिनी कपलाई सफल पार्न सबैलाई सहकार्यका लागि शाहले अपिल गरेका छन् । अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले प्रतियोगिताले महिला खेलाडीलाई नयाँ अवसर सिर्जना गर्ने बताए। प्रतियोगितालाई सफल बनाउन एन्फाले सहयोग गर्ने उनकाे भनाइ छ ।
नेपालगन्जमा राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु खुसीको कुरा भएको कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले बताइन् । ‘लुम्बिनी कप नेपाली महिला फुटबल खेलाडीका लागि राम्रो अवसर हो । यसले फुटबल खेलमा आउन चाहने नयाँ पुस्तालाई प्रेरणा र हौसला दिन्छ । देशका अन्य ठाउँमा पनि यस्ता प्रतियोगिता आयोजना भयो भने नेपाली महिला फुटबललाई अवश्य पनि फाइदा पुग्नेछ ।’
नेपाली महिला टिमको पहिलो कप्तान रमा सिंहले प्रतियोगितालाई सफलताको शुभकामना दिइन् । ‘नेपालमा महिला फुटबल सुरु भएको चार दशकपछि निजी क्षेत्रबाट राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिता हुनु निकै प्रसंशनीय छ । यसले निरन्तरता पाओस्। सरकारको मात्रै भर नपरेर निजी क्षेत्रबाट पनि फुटबलको विकासमा पहल हुनु जरुरी छ,’ उनले भनिन् ।