नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। सन् २०२४ नोभेम्बरसम्म १० लाख ५५ हजार पर्यटक नेपाल भ्रमणमा आएका पर्यटन बोर्डले जनाएको छ।
सन् २०२३ मा विभिन्न देशबाट १० लाख १४ हजार पर्यटक नेपाल घुम्न आएका थिए। यस वर्ष १० लाख पर्यटकको माइलस्टोन ११ महिनामै पूरा भएको पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले बताए।
सन् २०२४ मा १२ लाख पर्यटक भित्रिने अपेक्षा थियो। तर, पर्यटकीय सिजन करिब सकिनै लागेको हुँदा त्यो अपेक्षा पूरा नहुने देखिएको छ। सन् २०१९ मा इतिहासकै सबैभन्दा धेरै ११ लाख ९७ हजार पर्यटक नेपाल भित्रिएको तथ्यांक छ।
नोभेम्बरमा एक लाख १४ हजार पर्यटक आए
यस वर्ष नोभेम्बर महिनामा एक लाख १४ हजार ५०१ पर्यटक नेपाल भित्रिएका बोर्डले जनाएको छ। यो संख्या नोभेम्बर २०२३ सँग तुलना गर्दा ५.४० प्रतिशतले धेरै हो भने २०१९ नोभेम्बरको तुलनामा १२.२३ प्रतिशतले कम हो। नोभेम्बर २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक घुम्न आएको तथ्यांक छ।
नोभेम्बरमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाटै भित्रिएका छन्। एक महिनामा भारतबाट १९ हजार ९१५ पर्यटक भित्रिएका हुन्, जुन कुल पर्यटकको १३.११ प्रतिशत हो।
धेरै पर्यटक भित्रिने दोस्रो देश अमेरिका बनेको छ। अमेरिकाबाट १० हजार ९८१ पर्यटक भित्रिएका छन्। यस्तै, चीनबाट नाै हजार ४५८, बेलायतबाट ६ हजार ६११, बंगलादेशबाट पाँच हजार १४८, अस्ट्रेलियाबाट चार हजार ८२९, थाइल्यान्डबाट चार हजार ४६२, श्रीलंकाबाट चार हजार ३९५, जर्मनीबाट तीन हजार ९२६ र फ्रान्सबाट तीन हजार ८४१ पर्यटक नेपाल भित्रिएका छन्।