रोल्पामा नौ लाख राशिसहितको दोस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता घोषणा गरिएको छ । आगामी फागुन ३ देखि ८ गतेसम्म जिल्ला सदरमुकाम लिवाङमा हुने राष्ट्रिय भलिबल प्रतियोगिताको शनिबार लोगो तथा पुरस्कार राशि सार्वजनिक गरिएको हो। सन स्टार युवा क्लब रोल्पाले आयोजना गर्ने प्रतियोगितामा पहिलो हुने टिमले पाँच लाख नगदसहित सन स्टार ट्रफी हात पार्नेछन्।
त्यस्तै, दोस्रो हुने टिमले दुई लाख पचास हजार, तेस्रो टिमले एक लाख र सान्त्वना हुने टिमले ५० हजार प्राप्त गर्ने क्लबका अध्यक्ष पूर्ण केसीले जानकारी दिए। प्रतियोगिताको जानकारी दिँदै अध्यक्ष केसीले रोल्पामा अहिलेसम्मकै ठूलो राशिको खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको बताए। क्लबको तेह्रौँ वार्षिकोत्सवको अवसर पारेर गर्न लागिएको प्रतियोगितालाई जिल्लाकै महत्त्वपूर्ण उत्सवको रूपमा हेरिएको छ।
१० टोली सहभागी हुने
आयोजकका अनुसार प्रतियोगितामा दश टोलीको सहभागिता रहनेछ । प्रत्येक प्रदेशबाट एक–एक समूह, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी दश समूहले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। त्यसका साथै उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, सेटर, डिफेन्डरलगायतलाई पनि नगदसहित पुरस्कृत गरिने अध्यक्ष केसीले जानकारी दिए । विभागीय टोली तथा प्रदेशहरूमा पनि खेलाडी सहभागिताका लागि समन्वय भइरहेको र दशवटै टोलीलाई रोल्पामा उतार्ने गरी तयारी थालिएको क्लबले जनाएको छ।
‘रोल्पाको पर्यटन तथा खेलकुद विकासका लागि’ भन्ने मूल नारा राखिएको प्रतियोगिताका लागि आर्थिक संकलन अभियान पनि जारी राखिएको अध्यक्ष पूर्ण केसीले बताए। ‘हामीसँग अहिले आर्थिक स्रोत त छैन, थोपा–थोपाबाट समुद्र बन्छ भन्ने मान्यतालाई शिरोपर गर्दै यो खेलकुदको आयोजना गरेका छौँ,’ केसीले भने, ‘सहकार्यका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूसँग कुरा भइरहेको छ, सहयोगकै भरमा प्रतियोगिता आयोजना गर्दैछौँ ।’ अध्यक्ष केसीले राष्ट्रियस्तरको भलिबल आयोजना गर्नु आफैँमा चुनौतीपूर्ण रहेको भन्दै आर्थिक, भौतिक, नैतिक सबै हिसाबले सहयोगको अपिलसमेत गरे।
जिल्लास्तरीय महिला भलिबल हुने
सोही अवसरमा जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता पनि हुने भएको छ। स्थानीय तहको सिफारिसमा उक्त प्रतियोगितामा टिमलाई सहभागी बनाइनेछ। जसमा प्रथम हुनेले ५५ हजार, दोस्रोले ३५ हजार, तेस्रोले १५ हजार र चौथो हुनेले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ।
करिब ४० लाख खर्च हुने अनुमान
राष्ट्रिय भलिबलसहितको कार्यक्रम सम्पन्न गर्नका लागि करिब ४० लाखको खर्च अनुमान गरिएको छ। ‘राष्ट्रिय खेलाडीलाई यातायात, खान, बस्न, रेफ्री पारिश्रमिक, खेलकुद सामग्रीलगायत सबै खर्च गर्दा करिब ४० लाख लाग्ने अनुमान गरिएको छ,’ क्लबका अध्यक्ष केसीले भने, ‘रोल्पाजस्तो विकट जिल्लामा पनि राष्ट्रियस्तरकै मापदण्ड पुर्याउने गरी सक्दो प्रयास गर्नेछौँ।’ होटेल तथा अन्य सुविधाका हिसाबले रोल्पामा त्यति व्यवस्थित नभए पनि खेलाडीले रोल्पालीलाई माया गरेर भए पनि राम्रो मानिदिने अपेक्षा आफूहरूको रहेको अध्यक्ष केसीले बताए।