विजेता हेटौँडाले दुई लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता राप्तीले एक लाख ५१ हजार १११ रुपैयाँ प्राप्त गर्यो
छिमेकी जिल्ला चितवनको रत्ननगर नगरपालिकामा सम्पन्न भएको तेस्रो संस्करणको अन्तरपालिका रत्ननगर मेयर कप फुटबल प्रतियोगिताको उपाधि हेटौँडा उपमहानगरपालिकाले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा चितवनको राप्ती नगरपालिकालाई २–१ गोलले हराउँदै हेटौँडाले उपाधि जितेको हो । हेटौँडाले पहिलो सहभागितामै उपाधि जित्न सफल भएको हो ।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको हेटौँडाले दोस्रो हाफको सुरुवातीमै गोल गर्दै अग्रता बनाएको थियो । हेटौँडाका लागि स्यामुयल सुनारले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो गोल गरेको करिब तीन मिनेटमा नै हेटौँडाले अग्रता दोब्बर बनायो । हेटौँडाका लागि कप्तान रोशन दोङले पेनाल्टीमार्फत गोल गरे । राप्तीका भुवन लामाले हेटौँडाका विजय दोङलाई डिबक्स क्षेत्रमा फाउल गरेपछि प्राप्त पेनाल्टीलाई दोङले सदुपयोग गरेका थिए ।
यस्तै, राप्तीका निशान्त तामाङले अतिरिक्त समयमा गोल गरे पनि टिमलाई हारबाट जोगाउन सकेनन् । प्रतियोगिताको उपाधि विजेता हेटौँडाले दुई लाख ११ हजार १११ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता राप्तीले एक लाख ५१ हजार १११ रुपैयाँ पायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीका रूपमा हेटौँडाका कप्तान रोशन दोङले नगद १० हजार पाँच सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । फाइनल खेलका लागि हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, नगर खेलकुद विकास समिति हेटौँडाका अध्यक्ष रवीन्द्र घिमिरलगायत वडा अध्यक्षहरूसमेत चितवन पुगेका थिए ।