नेपालको टायल उद्योगमा भारतीय साझेदारी बढेको छ । सोमानीदेखि कजरियासम्म भारतका प्रतिष्ठित टायल कम्पनीले नेपालमा अत्याधुनिक उद्योगमा लगानी थप गरिरहेका छन् । अहिले स्वदेशी तथ विदेशी लगानीका झन्डै एक दर्जन उद्योगहरू सञ्चालनको तयारीमा रहेको उद्योगीहरू बताउँछन् । सबै उद्योग सञ्चालनमा आउँदा टायलमा आत्मनिर्भर हुने मात्र होइन, निर्यातसम्म गर्न सकिने अवसर रहेको उनीहरूको भनाइ छ ।
ठुलो क्षमताका चारवटा टायल उद्योगमा नेपाली र भारतीयले लगानीकर्ताले १० अर्बभन्दा बढी लगानी गर्ने देखिएको छ । नवलपरासीमा रहेको कजरिया र बाराको सिमरा सेजमा रहेको पशुपति टायल उद्योगले उत्पादन सुरु गरिसकेका छन् । सोमानीको भैरहवामा र नेपोभिटको सिमरा सेजभित्र उद्योगको काम चलिरहेको छ । यसअघि नै बारा–पर्सा औद्योगिक करिडोरमा नेपोभिट टायल उत्पादन सुरु भइसकेको छ । भारतबाट आयात गरेर बिक्री गरिँदै आएका यस्ता चर्चित टायल अब स्वदेशमै उत्पादन २५ प्रतिशतसम्म सस्तो पर्ने उद्योगीहरू बताउँछन् ।
बजारमा स्थापित ब्रान्डसँग साझेदारी गर्दा बजारीकरणमा समस्या नहुने मुरारका समूहका प्रबन्ध निर्देशक पशुपति मुरारकाले बताए । उनले भारतको चर्चित टायल कम्पनी सोमानीसँगको साझेदारीमा भैरहवामा उद्योग सञ्चालनको तयारी गरिरहेका छन् । दुई अर्ब लगानीमा खुल्ने टायल उद्योगमा मुरारका समूहको ७० प्रतिशत र सोमानी समूहको ३० प्रतिशत लगानी हुनेछ । टायल उद्योगमा भारतीय पुँजी, प्रविधिसँगै सीप पनि भित्रिएको उनको भनाइ छ ।
कजरिया सेरामिक्स र नेपालको रमेश कर्पको संयुक्त लगानीमा सञ्चालन भएको उद्योगबाट नवलपरासीमा टायल उत्पादन सुरु भएको छ । कजरिया भारतको अग्रणी टायल उत्पादक कम्पनी मानिन्छ । चार अर्ब लगानी रहेको कजरिया टायलमा नेपाली र भारतीय लगानीकर्ताको ५०–५० प्रतिशत लगानी छ । नेपालमा राम्रो बजार देखेपछि भारतीय टायल उद्योगीहरू नेपालमा लगानी गर्न तम्सिएका हुन् ।
नेपालमा टायल उत्पादन सुरु भएको धेरै भएको छैन । तीन वर्षअघिसम्म पनि नेपालमा शतप्रतिशत टायल आयात हुन्थ्यो । भारतदेखि इटालीसम्मका टायलले घर–अफिस टलक्क परेका छन् । तीन वर्षअघि नेपाल सेरामिक्सले जितपुर सिमराबाट ‘नेपोभिट’ ब्रान्डमा टायल उत्पादन थालेको थियो । दुई टायल व्यवसायीले दुई अर्ब रुपैयाँ लगानी गरेर नेपोभिट टायल उत्पादन थालेका हुन् । लगत्तै रौतहटको चपुरमा प्राइम सेरामिक्स टायल उद्योग खुल्यो ।
अरिहन्त ग्रुपले तीन अर्ब लगानी गरेर सुनसरीको सोनापुरमा अक्टोबरदेखि निमाटो ब्रान्डमा टायल उत्पादन थालेको छ । लुम्बिनी सेरामिक्स प्रालिले बर्दियाको गुलरियामा चार अर्ब लगानी गरेर जिभिटी टायल उद्योग स्थापना गरेको छ । निमाटो, जिभिटी र जितपुर सिमरामा रहेको नेपोभिटमा शतप्रतिशत स्वदेशी लगानी छ । सिमरा सेजभित्र खुल्ने नेपोभिट टायलमा भने भारतीय र नेपाली संयुक्त लगानी हुनेछ ।
नेपालमा टायलको उदाउँदो बजार देखेरै भारतीय लगानीका लागि आकर्षित भएको मुरारकाको भनाइ छ । अहिले स्वदेशी तथ विदेशी लगानीका झन्डै एक दर्जन उद्योग दर्ता भएका छन् । सबै उद्योग सञ्चालनमा आउँदा टायलमा आत्मनिर्भर हुने मात्र होइन, निर्यातसम्म गर्न सकिने अवसर छ । टायल उत्पादनका लागि चाहिने माटो स्वदेशमै पाइने हुनाले पनि तुलनात्मक लाभ बढी छ । नेपाली कच्चा पदार्थबाट उत्पादन हुने टायलको निकासी सम्भावना उच्च रहेको मुरारकाको भनाइ छ ।
मुरारका र सोमानी ग्रुपको साझेदारीमा खुल्ने टायल उद्योगले सन् २०२५ भित्र उत्पादन थाल्ने बताइएको छ । १३ बिघा क्षेत्रफलमा स्थापना भइरहेको उद्योगबाट सुरुमा वार्षिक ३० लाख वर्गमिटर टायल उत्पादन लक्ष्य राखिएको छ । ‘टायल बनाउने कच्चा पदार्थ ८० प्रतिशतसम्म स्वदेशमै उपलब्ध छ, आन्तरिक बजार र निकासीको पनि राम्रो सम्भावना छ,’ मुरारकाले भने, ‘हामीले दशकौँदेखि टायल उत्पादन गरेर प्रख्याति कमाएका टायल उद्योगसँग साझेदारी गरेका छौँ, जसले बजारीकरणदेखि क्वालिटी कन्ट्रोलसम्म सहयोग पुग्नेछ ।’ उनले थपे, ‘यी उपभोक्ताको विश्वास आर्जन गरेका ब्रान्ड हुन्, स्थापित मार्केट हुनाले मार्केटिङमा सहज हुन्छ, नयाँ ब्रान्ड स्थापित गरेर निर्यात गर्नभन्दा स्थापित ब्रान्डमा टायल निर्यात गर्न सहज पनि हुन्छ ।’
नेपालको रमेश कर्प र भारतको कजरिया सेरामिक्सको ५०–५० प्रतिशत लगानीमा नवलपरासीमा स्थापना भएको उद्योगको वार्षिक उत्पादन क्षमता साढे पाँच करोड वर्गमिटर रहेको छ । यस उद्योगमा करिब चार अर्ब रुपैयाँ लगानी हुने अनुमान छ । उद्योगबाट कजरिया ब्रान्डमै टायल बजारमा पठाइनेछ ।
भारतीय साझेदारीमा बाराको सिमरा सेजमा पशुपति सेरामिक्स उद्योग सञ्चालनमा आएको छ । करिब डेढ अर्ब लगानी भएको उद्योगका उत्पादन बजारमा आइसकेका छन् । उद्योगका चारजना सेयरधनीमध्ये एकजना तुलसी साह रौनियार नेपाली लगानीकर्ता हुन् । भारतको गुजरातमा पाँच दशकभन्दा बढी समयदेखि टायल उत्पादनमा सक्रिय लगानीकर्ता साझेदार रहेको उनको भनाइ छ । सेजमा आठवटा प्लटमा फैलिएको यस उद्योगमा पनि स्वदेशी तथा विदेशी लगानी ५०–५० प्रतिशत रहेको बताइएको छ । नेपोभिट ब्रान्डको टायल बजारमा ल्याएका व्यवसायी शम्भुनाथ झा, मनोज रौनियारलगायतको समूहले दुई अर्ब लगानी गरेर सेजभित्र पनि उत्पादन गर्न लागेको हो । यो उद्योगमा २५ प्रतिशत हिस्सा भारतीय टायल कम्पनी एजियल ग्रुपको रहेको कम्पनीका अध्यक्ष शम्भुनाथ झाले बताए ।
टायल उद्योगमा लगानीकर्ताको आकर्षण
टायल उद्योगमा स्वदेशी तथा विदेशी लगानी ओइरिएको छ । अक्टोबर २०२४ मा मात्रै अरिहन्त ग्रुपले सुनसरीको सोनापुरमा निमाटो ब्रान्डमा टायल उत्पादन सुरु गरेको छ । दैनिक १८ हजार वर्गमिटर टायल उत्पादन भइरहेको छ । भारतमा निर्यातका लागि गुणस्तर चिह्न लिने तयारीमा छ । उद्योगमा करिब तीन अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
लुम्बिनी सेरामिक्स प्रालिले बर्दियाको गुलरियामा चार अर्ब लगानी गरेर जिभिटी टायल उद्योग स्थापना गरेको छ । दैनिक १० हजार वर्गफिट उत्पादन क्षमता रहने उद्योग १२ बिघा क्षेत्रफलमा फैलिएको छ । यस उद्योगमा सुव्रत धिताल, खेतान समूहलगायतको लगानी छ ।
