कांग्रेस महाधिवेशनको तीन वर्षमा पाँचपटक मनोनयन तर, केन्द्रीय समिति अझै अपूरो

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

१४औँ महाधिवेशनको तीन वर्षमा पनि कांग्रेसको केन्द्रीय समिति अझै अपूर्ण छ । कांग्रेस विधानमा महाधिवेशनबाट सभापति र अन्य पदाधिकारीसहित केन्द्रीय कार्यसमितिमा एक सय ३४ जना निर्वाचित हुने व्यवस्था छ । कुल एक सय ६८ सदस्यीय केन्द्रीय समितिमा सभापतिलाई थप ३३ जना मनोनीत गर्ने अधिकार विधानले दिएको छ । सबैको प्रतिनिधित्व हुने गरी ३३ जना थप मनोनीत गर्ने अधिकार सभापतिलाई दिए पनि अझै दुई केन्द्रीय सदस्य मनोनीत नहुँदा पूर्णता पाएको छैन ।

डा. प्रकाशशरण महत, प्रवक्ता, कांग्रेस
सभापतिज्यूले विधानले दिएको अधिकारअनुसार सबैलाई समेटेर केन्द्रीय समितिमा मनोनीत गर्नुभएको छ । महाधिवेशनको तीनवर्षे अवधिमा एक–दुईबाहेक सबै मनोनीत भइसकेका छन् । बाँकी पनि छिट्टै हुनेछन् । छिट्टै केन्द्रीय समितिले पूर्णता पाउनेछ । 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत छिट्टै बाँकी सदस्य मनोनीत हुने र केन्द्रीय समितिले पूर्णता पाउने दाबी गर्छन् । उनले सभापतिको अधिकार क्षेत्र भएकाले आवश्यकता हेरेर बाँकी मनोनयन गर्ने र केन्द्रीय समितिलाई पूर्णता दिने जिकिर गरे । ‘सभापतिज्यूले विधानले दिएको अधिकारअनुसार सबैलाई समेटेर केन्द्रीय समितिमा मनोनीत गर्नुभएको छ । महाधिवेशनको तीनवर्षे अवधिमा एक–दुईबाहेक सबै मनोनीत भइसकेका छन् । बाँकी पनि छिट्टै हुनेछन् । छिट्टै केन्द्रीय समितिले पूर्णता पाउनेछ,’ उनले भने । 

महाधिवेशनमा खुला ३५, महिला नौ, प्रत्येक प्रदेशबाट तीनजनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारू चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक सदस्य निर्वाचित हुन्छन् । यसबाहेक कांग्रेस विधानको दफा २१ (१०)मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापतिले कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेतलाई ध्यानमा राखी ३३ जना सदस्य मनोनीत गर्ने अधिकार छ । महाधिवेशनपछि सभापति देउवाले पटक–पटक गरी ३२ केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन् । सभापतिको दोस्रो चरणमा पराजित बनेका डा. शेखर कोइराला भने सभापतिमा दोस्रो मत ल्याउने व्यक्ति स्वतः केन्द्रीय सदस्य बन्ने विधानको दफा ६५ को व्यवस्थाअनुसार केन्द्रीय सदस्य बनेका हुन् ।

महाधिवेशनपछि १७ पुस ०७८ मा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीन विश्वकर्मालाई मनोनीत गरेका थिए । १८ पुसमा प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र जीवनबहादुर शाहीलाई मनोनीत गरे । 

जसमा महाधिवेशनमा पराजित र महाधिवेशनमा देउवालाई सघाउने अनुहारको वर्चस्व थियो । मनोनीत भएका सिंह र निधि सभापतिको पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार थिए । उनीहरूले सभापतिको दोस्रो चरणको निर्वाचनमा देउवालाई सघाएका थिए । यस्तै, देउवा प्यानलबाट उपसभापतिको उम्मेदवार बनेका गच्छदार र सिंह प्यानलबाट उपसभापति बनेकी कोइराला पनि महाधिवेशनमा पराजित भएका थिए । महत देउवा प्यानलबाटै महामन्त्रीका उमेम्दवार बनेर पराजित बनेका थिए । गुरुङ सभापतिको पहिलो चरणको निर्वाचनबाट बाहिरिएका थिए । पौडेल देउवा प्यानलबाट महामन्त्रीमा र शाही सहमहामन्त्रीमा पराजित बनेका थिए । जसमा संस्थापन इतरसमूहका नसमेटिएपछि यसलाई लिएर कांग्रेसको संस्थापनइतर समूहले असन्तुष्टि जनाएको थियो । 

यसबिचमा १० साउन ०७९ संस्थापन समूहबाट राधा घले, धना खतिवडा, उर्मिला थपलिया, कल्याणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा गरी १० महिला मनोनीत गरेका थिए । जसमा संस्थापनइतरबाट रुक्मिणी कोइराला र किरण यादव परेका थिए । महामन्त्रीमा पराजित चारमध्ये दुईजना र सहमहामन्त्रीमा पराजित ११ मध्ये शाही केन्द्रीय सदस्यमा मनोनीत बनेका छन् । संविधानअनुसार केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको संख्या पु¥याउनुपर्ने हुन्छ । जसअनुसार ५५ जना महिला केन्द्रीय समितिमा आवश्यक हुन्छ । हालसम्म ४१ जना निर्वाचित भएर आएका छन् । १३ जना मनोनयन भएका छन् । २२ वैशाख ०८० मा संस्थापनइतरबाट महामन्त्रीमा पराजित डा. मीनेन्द्र रिजाललाई केन्द्रीय समितिमा समावेश गरेका थिए । यसबिचमा सभापति देउवाले पटक–पटक गरी २४ जनाको मनोनयन गरेका थिए । मनोनीतमध्ये हालका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै पछिल्लो समय १० केन्द्रीय सदस्य मनोनयन हुन बाँकी थियो । 

४ असोज ०८० मा सभापति देउवाले आठ केन्द्रीय सदस्य मनोनयन गरे । मनोनीत हुनेमा संस्थापननिकट मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा थिए । डा. चन्द्र भण्डारी शेखर–गगन समूहका र शिवप्रसाद हुमागाईं नेता कृष्ण सिटौलानिकट थिए । १३ पदाधिकारीका लागि ३७ जना उम्मेदवार बनेका थिए । हालसम्मको मनोनयनमा पदाधिकारीमा पराजित २४ मध्ये ११ केन्द्रीय समितिमा पुगेका छन् ।

महाधिवेशनमा पदाधिकारीतर्फ एक सभापतिका लागि पाँच जना, दुई उपसभापतिका लागि सातजना, दुई महामन्त्रीका लागि ६ जना र आठ सहमहामन्त्रीमा १९ जना उम्मेदवार रहेका थिए । केन्द्रीय सदस्यमध्येबाट एकजनालाई कोषाध्यक्षको जिम्मेवारी तोक्ने अधिकार पनि सभापतिलाई थियो । केन्द्रीय समितिमा सभापति देउवाका पक्षमा ८० प्रतिशत बहुमत छ । तर, गत आइतबार मात्रै सभापति देउवाले उमेश श्रेष्ठलाई कोषाध्यक्ष मनोनीत गरेका छन् ।

इतरसमूहका नेता अर्जुननरसिंह केसी मनोनयनमा ढिलाइ हुँदा पार्टीमा राम्रो पद्धति बस्न नसकेको तर्क गर्छन् । उनी पदाधिकारी तहको कोषाध्यक्षको मनोनयनमा भएको ढिलाइ र अझै केन्द्रीय समिति अपूर्ण रहनुले गलत सन्देश गएको टिप्पणी गर्छन् । 

सुझावित समाचार