उदयपुरका दुईवटै वडामा मतदान जारी

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका– १२ र बेलका नगरपालिका– ९ मा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी दिलीप थापामगरका अनुसार दुवै वडामा मतदान जारी छ ।

०७९ को स्थानीय तह निर्वाचनमा बेलका नगरपालिका वडा नम्बर ९ मा नेपाली कांग्रेसबाट पदम खड्का र त्रियुगा नगरपालिका– १२ मा नेपाली कांग्रेसबाट चुडाराज काफ्ले निर्वाचित भएका थिए । उनीहरू दुवैको छुुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्रियुगा नगरपालिका– १२ को उपनिर्वाचनका लागि सदरमुकाम गाईघाटस्थित वडा नम्बर १३ को जनप्रेमी आधारभूत विद्यालय र बेलकाको वडा ९ स्थित वरपिपल माध्यमिक विद्यालयलाई मतदान स्थल बनाइएको छ ।

त्रियुगामा एक स्वतन्त्रसहित नाैजनाले र बेलका नगरपालिका– ९ मा सातजना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार त्रियुगा– १२ मा एक हजार ८७६ पुरुष र एक हजार ९७१ महिलासहित तीन हजार ८४० मतदाता छन् । त्यसैगरी, बेलका– ९ मा जम्मा तीन हजार १३६ मतदातामध्ये पुरुष एक हजार ५७२ र महिला एक हजार ५६४ छन् ।
 

See More On

सुझावित समाचार