गुल्मीकाे मुसीकोट नगरपालिका– १ मा अहिलेसम्म २०७ मत खस्यो

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

गुल्मीको मुसीकोट नगरपालिका– १ मा वडाध्यक्ष पदको उपनिर्वाचनमा अहिलेसम्म दुई सय सात मत खसेको छ । बिहान ७ बजेबाट शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ । तीनवटै मतदान स्थलका मतदान केन्द्रहरूमा मतदान सुरु भएको हो ।

वडा नं. १ मा चार हजार ९१ मतदाता रहेका छन् । अहिलेसम्म नेपाल राष्ट्रिय सर्वोदय माविको दुई मतदान केन्द्रमा एक सय ३३ मत खसेको छ । नेपाल राष्ट्रिय सर्वाेदय मावि मतदान स्थलको दुई केन्द्रमा एक हजार ९४५ मतदाता रहेका छन् ।

त्यस्तै, सरस्वती मावि मतदान स्थलको दुई मतदान केन्द्रमा ४५ मत र  जनज्योति मावि मतदान केन्द्रमा ३१ गरेर २०७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि आठजनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत कृषिराम घिमिरेका अनुसार नेकपा एमालेको तर्फबाट दलबहादुर थापा, कांग्रेसबाट आनन्द श्रेष्ठ, माओवादी केन्द्रका दुर्गाबहादुर विक, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट ईश्वरी खाती चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवारको रूपमा योगेन्द्र खरेल, पुमानन्द खरेल र कुलबहादुर थापाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत घिमिरेले बताए । तत्कालीन वडाध्यक्ष मोहन घिमिरेको मृत्यु भएपछि मुसीकोट नगरपालिका– १ मा उपनिर्वाचन भएकाे हाे । तीनै सुरक्षाकर्मीहरूद्वारा सुरक्षाको व्यवस्था गरिएको छ । अहिलेसम्म निकै कम मत खसिरहेको छ । चिसो भएका कारण मतदाता ढिला गरेर मतदान स्थल आएका छन् ।

सुझावित समाचार