स्थानीय तह उपनिर्वाचन : हेटौँडा– १२ मा मतदान सुरु

आइतबार, १६ मंसिर, २०८१
डिजिटल संस्करण

स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका– १२ को वडाध्यक्ष पदका लागि मतादन सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराईका अनुसार बिहान ७ बजेबाटै यहाँका दुईवटा मतदान स्थलका नाै केन्द्रमा मतदान सुरु भएको हो ।

०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएसँगै रिक्त भएको अध्यक्ष पदका लागीिआज निर्वाचन भइरहेको हो ।

निर्वाचनमा राजनीतिक दलहरूका तर्फबाट नाै र स्वतन्त्र तीन गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसका अर्जुनप्रसाद तिवारी, एमालेका राजेश नगरकोटी, माओवादी केन्द्रका रविकुमार प्रधान, रास्वपाका आशावीर बल, राप्रपाका प्रेमबहादुर भोलन, जसपाका छविलाल वाइबा, मंगोल नेसनल अर्गनाइजेसनकी दीपा लामा, नेमकिपाकी फूलमाया तितुङ र एकीकृत समाजवादीका बलराम बल उम्मेदवार छन् । यस्तै, स्वतन्त्र उम्मेदवारका रूपमा अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी चुनावी मैदानमा छन् ।

कुल आठ हजार ५३ मतदाता रहेको यस वडामा चार हजार ४२८ जना पुरुष, तीन हजार ६२५ महिला र एकजना अन्य मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार प्रतिभा आधारभूत विद्यालय सिक्रेनीमा र विष्णु ज्योति आधारभूत विद्यालय भोर्ले गरी दुईवटा मतदान स्थल कायम गरिएको छ । प्रतिभामा पाँच र विष्णुज्योतिमा चार गरी कुल नाै मतदान केन्द्र रहेका छन् ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख ढकालका अनुसार प्रतिभा मतदान स्थलमा चार हजार ४२८ र विष्णज्योतिमा तीन हजार ६२५ मतदाताले मतदान गर्नेछन् । 

निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलवाल आफैँ मतदान हुने वडामा उपस्थित भएका छन् भने चारवटै सुरक्षा नियकालाई परिचालन गरिएको छ ।

वडा प्रवेश गर्ने नाका र मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने नियमित पट्रोलिङ गरी वडाको सुरक्षा व्यवस्थामा उच्च निगरानी राखिएको प्रमुख जिल्ला अधिकारी चिलवालले बताए । उनले मतदाताहरूलाई भयरहित वातावरणमा मतदान गर्न आग्रहसमेत गरेका छन् ।

सुझावित समाचार