नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको धनगढीस्थित निवासअगाडि बम राखेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। गौरीगंगा नगरपालिका घर भएका दानबहादुर धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
धनगढी–४, स्थित देउवानिवासको अगाडि गत ९ भदौमा बम फेला परेको थियो। झोलामा माटोभित्र टिफिन बक्समा राखिएको उक्त बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो।
बम राखेको अभियोगमा पक्राउ परेका धामीसँग बयान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले बताए। त्यसवेला घटनाको अनुसन्धानका लागि नेकपा बहुमतका चारजना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। पूर्वप्रधानमन्त्री देउवा धनगढी आउँदा यही घरमा बस्छन्। अहिले उनका भतिजा प्रकाश देउवा बस्ने गर्छन्।