जापान मानव तस्करी प्रकरण : तीन बिचौलिया जेल चलान

शुक्रबार, १४ मंसिर, २०८१
डिजिटल संस्करण
जापान मानव तस्करी प्रकरण : तीन बिचौलिया जेल चलान

फाइल तस्बिर

कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापान मानव तस्करीसम्बन्धी मुद्दामा मुख्य तीन बिचौलिया जेल चलान भएका छन्।

मानव तस्करी र लिखतसम्बन्धी कसुर गरेको भन्दै सोमबार दायर मुद्दामा न्यायाधीश बलराम लम्सालको इजलासले शुक्रबार थुनछेक आदेश सुनाउँदै प्रतिवादीहरूमध्ये तीनजनालाई थुनामा पठाएको हो। तीनजनासँग भने धरौटी मागको आदेश भएको छ।

यसैगरी दुईजनालाई साधारण तारेखमा रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ। यो मुद्दामा चार दिनदेखि ‘हेर्दाहेर्दै’मा राखेर थुनछेक बहस जारी थियो।

अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जुगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताए। उनीहरू तीनैजनालाई कारागार लगिएको छ भने कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईसँग जनही ५०–५० हजार रुपैयाँ धरौटी माग भएको बाँस्कोटाले जानकारी दिए। उनीहरू तत्कालीन मन्त्री अधिकारीसँगै नक्कली सरकारी परिचयपत्र बनाएर जापान गएकोमा त्यहाँको अध्यागमनले शंकास्पद भ्रमण भन्दै फर्काइदिएको थियो।

त्यस्तै, पक्राउ परेका गुडी राई र नवीन राईलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ। उनीहरूले नक्कली सरकारी परिचयपत्र बनाएका थिए।

यो मुद्दाका मुख्य तीन बिचौलिया रहेका गोपाल भन्ने योगराज गौतम, दिवाकरबाबु भट्टराई र विष्णु भट्टराई फरार छन्। प्रहरीले तत्कालीन मन्त्री अधिकारीलाई समेत मुद्दा चलाउन सिफारिस गरेकोमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रमाण नपुगेको भन्दै उनलाई उन्मुक्ति दिएको छ।

सुझावित समाचार