सिराहाको लहान नगरपालिका– ८ स्थित कम्प्युटर पसलमा बिहीबार राति भीषण आगलागी भएको छ। साँझ करिब साढे ६ बजेदेखि कम्प्युटर पसल कुन्ती सप्लायर्समा सुरु भएको आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीमा करिब दुई करोड रुपैयाँबराबरको क्षति भएको पीडितले बताए पनि बिल–भर्पाइको आधारमा क्षतिको यकिन गरिने इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए। साँझ पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको उनले बताए।
आगलागी भएलगत्तै जानकारी गराइए पनि करिब ४० मिनेटपछि मात्र लहान नगरपालिकाको बारुणयन्त्र आएकाले क्षति बढी भएको पसल सञ्चालक मृगेन्द्र साहले गुनासो गरे। पसलमा नयाँ कम्प्युटर, प्रिन्टरलगायतका सामान भएकाले आगो निभाउन हम्मेहम्मे परेपछि गोलबजार, सिराहाबाट पनि बारुणयन्त्र मगाएर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।