सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर गल्फर राहुल विकेले जितेका छन्। अन्तिम दिन बिहीबार ५–अन्डर ६७ को उत्कृष्ट स्कोरसहित समग्रमा १२–अन्डर २७६ को नतिजामा उनले अनुभवी तोरणविक्रम शाहीलाई एक स्ट्रोकले पराजित गरे। राहुलको सूर्य नेपाल गल्फ टुरमा करिअरको यो पहिलो उपाधि हो।
गोकर्ण गल्फ क्लबमा लगातार तीन दिनका लिडर तोरणले इभन–पार ७२ को नतिजा दर्ज गर्दा समग्रमा ११–अन्डर २७७ सहित दोस्रो भए। प्रोफेसनलतर्फ भने पहिलो हुँदै उनले एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे। नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य भने समग्रमा ७–अन्डर २८१ सहित तेस्रो भए। उनले आज इभन–पार ७२ मा खेल सकाए।