उद्यमी बनाउन सीप सिकाउँदै घरेलु

पाँच पालिकाका सय बढि व्यक्तिले सीप सिक्दै

बिहिबार, १३ मंसिर, २०८१
डिजिटल संस्करण

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले उद्यमी बनाउन विभिन्न सीपका कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका पाँच स्थानीय तहका एक सयभन्दा बढी व्यक्तिलाई उद्यमी बनाएर स्वरोजगार सिर्जना गर्न विभिन्न तालिम सञ्चालन गरिरहेको छ । इस्मा, छत्रकोट, मालिका, रुरु क्षेत्र गाउँपालिका र मुसीकोट नगरपालिकाका एक सयभन्दा बढी व्यक्तिलाई स्लेट ढुंगा बनाउने, मोटरसाइकल मर्मत, कफी उत्पादन र प्रवर्द्धन तथा उखुको चकलेट बनाउने तालिम सञ्चालन गरेको कार्यालयले जनाएको छ । 

इस्मा गाउँपालिकाका १७ जनालाई स्लेट ढुंगा कटिङ तालिम प्रदान गरिएको छ । १५ दिनसम्म सञ्चालन गरिएको तालिममा रुकुमका प्रेमप्रकाश ओली र धनार्जीका जगुलाल भण्डारीले सहभागीहरूलाई स्लेट ढुंगा काट्ने तरिका, त्यसलाई आकार दिने र सजावट सामग्री तयार गर्ने कला र सीप अभिवृद्धि गरेका थिए ।

लामो समय विदेशमा काम गरेर गाउँ फर्किएका इस्मा गाउँपालिका– ३ का प्रशिक्षार्थी यमराज महतले सीप सबैभन्दा ठुलो कुरा भएको बताउँदै सबैलाई व्यवहारमा प्रयोग गर्न आग्रह गरे ।  उनले आफूले परदेशमा सीप के हो भन्ने कुरा राम्रोसँग बुझेर फर्किएकाले निःशुल्क रूपमा घरआँगनमा पाएको सीपको सदुपयोग आवश्यक रहेको बताए । 

लामो समयदेखि गाउँकै ढुंगाको काम गर्दै आएका लोकबहादुर महतले तालिमले मिस्त्री बनाएको बताए । उनले सके उद्योग नै सञ्चालन गर्ने र नसके ढुंगाकै काम पनि स्तरीय सुविधासहित पाउने आशा व्यक्त गरे । इस्मा गाउँपालिका– ३ का वडाध्यक्ष ज्योतिराज कुँवरले ढुंगाको सम्भावना राम्रो भएको वडामा ठुलो मिहिनेतले सञ्चालित तालिमले सीप प्राप्त सबै व्यक्तिले एकीकृत रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

इस्मा गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मण विष्टले सरकार र नागरिककै बिचमा राम्रो तालमेल नभएका कारण तालिमका परिणाम सही रूपमा निस्कन नसकेको बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय गुल्मीका प्रमुख हरिहर शर्मा तिवारीले परदेश मोहले गाउँमा सीपयुक्त जनशक्ति नै नभएका कारण परनिर्भरता बढ्दै गएको बताए । उनले तालिममा राज्यको थुप्रै लगानी भएकाले सीपलाई आयआर्जनमा सदुपयोग गर्न आग्रह गरे । 

तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै इस्मा गाउँपालिकाकी उपाध्यक्ष तथा अधिवक्ता पार्वती कुँवरले माटो र माग सुहाउँदो तालिम भएकोप्रति खुसी व्यक्त गरिन् । उनले कानुनी जटिलताको कारण ढुंगा उद्योग सञ्चालनमा समस्या भए पनि तालिमका सहभागीले प्राप्त गरेको सीपलाई सदुपयोग गर्न सल्लाह गरेर पालिकाले अनुकूल काम गर्ने बताइन् । उनले स्थानीय स्राेत र साधनको उपयोगलाई गाउँपालिकाले प्राथमिकता दिएकाले पालिकाभित्रका मठमन्दिर र पर्यटकीय स्थलहरूमा स्थानीय ढुंगाको प्रयोग गरिरहेको बताइन् ।

घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले सीप जीवनमा महत्त्वपूर्ण हुने भएकाले तालिममा सहभागीहरूले व्यावसायिक योजना निर्माण गरेर अगाडि बढ्न आग्रह गरे । काम र लगानी गर्ने इच्छाशक्ति भए तीन तहका सरकार सहयोग गर्न तयार भएकाले तत्काल सीपको उपयोग र अर्थोपार्जनका लागि अगाडि बढ्न अर्यालले सुझाव दिए ।
 

सुझावित समाचार