कीर्तिपुरमा प्रमुख दलहरूलाई स्वतन्त्रको चुनौती
आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल र स्वतन्त्र उम्मेदवारको चुनावी प्रचार अन्तिम चरणमा पुगेको छ । निर्वाचन प्रचारको समय बिहीबार मध्यराति १२ बजेसम्म मात्रै छ । उम्मेदवारहरू मतदाता रिझाउन व्यस्त छन् ।
उपनिर्वाचन हुने एक मात्र नगरपालिका भएकाले कीर्तिपुरमा सबैको ध्यान छ । गत निर्वाचनमा मेयरमा निर्वाचित कांग्रेसका राजकुमार नकर्मीको क्यान्सरका कारण निधन भएपछि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो । घरदैलोका साथै सामाजिक सञ्जाल र फोनमार्फत पनि उम्मेदवारले मत मागिरहेका छन् । सहरी क्षेत्रका अधिकांश मतदाता दिउँसोको समय घरमा नहुने भएकाले उम्मेदवारले बिहान र बेलुका मात्र घरदैलो गरेका छन् । दिउँसोको समयमा भने चुनावी गतिविधि खासै देखिँदैन । चोकचोकमा प्रचार सामग्री पनि न्यून मात्रै देखिन्छ । चोक, पार्क र बिजुलीका पोलमा फाट्टफुट्ट चुनाव प्रचार सामग्री टाँसिएको÷टाँगिएका छन् ।
गत निर्वाचनमा अधिकांश स्थानमा कांग्रेस, माओवादी, एकीकृत समाजवादीको चुनावी गठबन्धन थियो । तर, कीर्तिपुरमा भने कांग्रेस र जसपाको मात्रै गठबन्धन थियो । जसपाकी शुभलक्ष्मी शाक्य कांग्रेसको रुख चिह्नबाट निर्वाचित भएकी थिइन् । १० वडामध्ये एक स्वतन्त्रबाहेक सबै वडा कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ मा स्वतन्त्रबाट निर्वाचित श्याम अधिकारीको निधन भएकाले ती वडामा पनि निर्वाचन हुँदै छ ।
उपनिर्वाचनमा राजनीतिक परिवेश फेरिएको छ । कांग्रेस र एमाले सत्तागठबन्धनमा छन् । चुनावी मैदानमा भने एक्लाएक्लै छन् । निर्वाचन आयोगमा २० उम्मेदवारको नाम अद्यावधिक भएकाले कीर्तिपुरको मेयरको निर्वाचनमा २० वटा चुनाव चिह्न छ । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट डा. सुरेन्द्र मानन्धर, माओवादीबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाबाट ध्रुव महर्जनलगायत दल र स्वतन्त्रका २० उम्मेदवारलाई आयोगले निर्वाचन चिह्न दिएको छ । एकीकृत समाजवादीले उम्मेदवारी निष्क्रिय पारेर माओवादीलाई समर्थन गरेको छ । स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठले अर्का स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव)लाई समर्थन गरेका छन् ।
कीर्तिपुुरका मतदाताहरू परिणामबारे अहिले नै अनुमान गर्न नसकिने बताउँछन् । चुनावी प्रचार शैली र एजेन्डा प्रायः सबै दलको उस्तैउस्तै रहेकाले विगतमा जस्तो परिणाम आकलन गर्न सहज नभएको उनीहरूको भनाइ छ । कीर्तिपुर भाजंगलका ९० वर्षीय हरिकृष्ण महर्जनले दलहरूले कुरा मात्रै गर्ने गरेको गुनासो गरे । घर निर्माण मापदण्डले धेरै नागरिक समस्यामा परे पनि त्यसको सुनुवाइ हुन नसकेको उनले बताए । ‘जिन्दगीभरको कमाइले घर बनाउन खोज्दा मापदण्ड देखाएर नगरपालिकाले दुःख दिन्छ । चुनावका वेला समस्या समाधान गर्छु भन्छन्, जितेपछि जनतालाई नै दुःख दिन्छन्,’ उनले भने । मतदानबारे आफू निर्णयमा पुगिनसकेको उनले बताए ।
भाजंगलकै ५४ वर्र्षीया इन्दमाया महर्जनले कुराभन्दा काम गर्ने उम्मेदवार हेरेर मतदान गर्ने बताइन् । ‘सबैले राम्रो काम गर्छु भनेर भोट माग्नुभएको छ । विगतमा पनि धेरैले धेरै कुरा गरे । जितेर गएपछि जनताको समस्या कसैले बुझेनन् । यसपालि कुराभन्दा कसले राम्रो काम गर्छ भन्ने हेरेर भोट दिन्छु,’ उनले भनिन् ।
भत्केको पाटीका ७७ वर्षीय बद्री विष्टले निर्वाचनप्रति त्यति धेरै चासो नभएको बताए । ‘विगतदेखि नै भोट दिँदै आइयो । चुनावका वेला ठुला कुरा गर्छन् । जितेपछि वास्ता गर्दैनन् । त्यसैले यसपालिको चुनावमा त्यति धेरै चासो दिएको छैन । भोट माग्न धेरै आएका छन् । यसैलाई भोट दिऊँ भन्ने मनमा लागेकै छैन,’ उनले भने ।
साउनेमूलकी मनिता आचार्यले चुनावी माहोल बिहान–बेलुका मात्रै देखिएको बताइन् । ‘बिहान–बेलुका भोट माग्न धेरै आउँछन् । दिउँसो त अहिलेसम्म कोही पनि आएका छैनन्,’ किराना पसल सञ्चालन गर्दै आएकी उनले भनिन्, ‘अहिले राम्रो प्रतिस्पर्धा होलाजस्तो देखिन्छ । पहिला माहोल हेर्दा फलानोले जित्छ कि भन्ने लाग्थ्यो । तर, अहिले त्यस्तो देखिँदैन ।’
साउनेमूलकै विश्वराम बस्नेतले भने मुख्य दलहरूबिच नै प्रतिस्पर्धा हुने बताए । ‘यहाँको अवस्था हेर्दा प्रमुख दलहरूकै बिचमा प्रतिस्पर्धा हुने देखिन्छ । बाहिरी क्षेत्रमा दलप्रति प्रतिबद्ध मतदाता धेरै हुन्छन् । स्वतन्त्र उम्मेदवार पनि धेरै छन् । त्यसैले दलका उम्मेदवारले जित्ने सम्भावना बढी देख्छु,’ उनले भने ।
बाघभैरवका ८८ वर्षीय श्याम महर्जनले कडा प्रतिस्पर्धा हुने अनुमान गरे । ‘पहिलोको जस्तो चुनावी माहोल देखिएको छैन । बिहान–बेलुका चहलपहल बढी देखिन्छ । कसले जित्छ भन्न गाह्रो छ । मैले पनि कसलाई भोट दिने भन्ने सोचिसकेको छैन,’ उनले भने ।
सबै उम्मेदवारको आ–आफ्नै दाबी
प्रमुख दलका उम्मेदवार र नेताहरूले प्रमुख दलहरूबिच नै प्रतिस्पर्धा हुने दाबी गरेका छन् । कांग्रेस, एमाले, माओवादी, राप्रपालगायत दलका केन्द्रीय नेताहरू पनि चुनावी प्रचारमा कीर्तिपुर पुगेका छन् । ‘मुख्य प्रतिस्पर्धा कांग्रेस, एमाले र माओवादीबिच नै हुन्छ,’ कांग्रेस उम्मेदवार कृष्णमान डंगोल भन्छन्, ‘पहिलोमा कांग्रेस, दोस्रोमा एमाले र तेस्रोमा माओवादी आउँछ ।’ एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धर एमालेको जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘विगतका कमजोरी सुधार गरिसकेका छौँ । प्रत्येक मतदाताकहाँ पुगेका छौँ । चुनावी माहोल हाम्रो पक्षमा छ,’ उनले भने । माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जन परिस्थिति फेरिएकाले आफूले जित्ने दाबी गर्छन् । ‘गत निर्वाचनमा एमालेलाई हराउने रणनीति थियो, त्यसमा हामी सफल भयौँ । अहिले हामी जित्ने रणनीतिमा छौँ, हामी चुनाव जित्दै छौँ,’ उनले भने ।
स्वतन्त्र उम्मेदवारहरूले पनि आफूले जित्ने दाबी गरेका छन् । राजमान महर्जन (मानव), कबिर महर्जन र दिनेश अधिकारीको चर्चा बढी छ । राजमान कम्युनिस्ट पृष्ठभूमि तथा कबिर र दिनेश कांग्रेस पृष्ठभूमिका हुन् । राजमानले कम्युनिस्टको भोट काट्ने आकलन कांग्रेसको छ । कबिर र दिनेशले कांग्रेसको भोट काट्ने आकलन एमालेको छ । तर, स्वतन्त्र उम्मेदवार मानव आफू भारी मतान्तरले विजयी हुने र लगत्तै परिणाम आउने गरी काम गर्ने दाबी गर्छन् । धरानका मेयर हर्क साम्पाङ आफ्नो पक्षमा मत माग्न हिँडेपछि मानव उत्साहित देखिएका छन् । रास्वपाले समर्थन गर्ने उनले दाबी गरे । ‘रास्वपाले आजभोलि नै औपचारिक रूपमा समर्थन गर्छ । काठमाडौं र कीर्तिपुरमा धेरै समानता छ । कीर्तिपुरमा पनि बालेन, हर्कजस्तै स्वतन्त्र मेयरको खाँचो छ । त्यसैले बालेनको पनि समर्थन हुन्छ भन्नेमा छु,’ उनले भने ।
काठमाडौं– १६ : सबै उम्मेदवार जित्नेमा ‘ढुक्क’
काठमाडौं महानगरपालिका– १६ को वडाध्यक्षको निर्वाचन दलहरूका लागि प्रतिष्ठाको विषय छ । १८ उम्मेदवारले मतदातासम्म प्रत्यक्ष पुग्न घरदैलोलाई प्राथमिकतामा राखेका छन् । कांग्रेस, एमाले, एकीकृत समाजवादी, रास्वपालगायत दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवार बाजागाजा र ¥यालीसहित घरदैलोमार्फत सम्भव भएसम्म मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन् ।
घरदैलोकै आधारमा परिणाम आफ्नो पक्षमा पर्ने आधारबारे उम्मेदवारका आ–आफ्नै विश्लेषण र दाबी छन् । कांग्रेस र एकीकृत समाजवादीले एमालेलाई मुख्य प्रतिस्पर्धी मानेका छन् । एमालेले भने आफूबाहेकका उम्मेदवार प्रतिस्पर्धामा नरहेको दाबी गरेको छ । कांग्रेसले मंगलबारबाट घरदैलो सकेको छ । घरदैलोसँगै कांग्रेसले यसअघि जितेको क्षेत्र, वडाध्यक्षको अभावमा एमाले मात्रका वडासदस्यले डेलिभरी दिन नसकेकोलगायत कारण मतदाता आफ्नो पक्षमा रहेको आधारलाई जितको आधारका रूपमा दाबी गरेको छ । गत निर्वाचनमा वडाध्यक्षमा कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । चारवटै सदस्य एमालेले जितेको थियो ।
‘मतदाताले यसअघि कांग्रेसबाट निर्वाचित स्वर्गीय मुकुन्द रिजालको समयमा भएको कामको स्पिड खोजेका छन् । वडाध्यक्ष नहुँदा एमालेबाट निर्वाचित चार वडासदस्यको भरमा वडा चल्यो, तर वडावासीले महसुस हुने गरी डेलिभरी हुन सकेन । हामीले मुख्य प्रतिस्पर्धीका रूपमा एमालेलाई नै मानेका छौँ । नयाँ दल र स्वतन्त्रबाट पनि उम्मेदवार हुनुहुन्छ, तर उहाँहरूबाट डेलिभरी हुन्छ भन्ने आधार मतदातामा देखिएन । मतदातामा कांग्रेसमा नै अपेक्षा रहेको पाएका छौँ,’ कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले भने ।
एमालेले भने यसअघि कांग्रेस–माओवादी गठबन्धन रहेको अवस्थामा पनि चारवटै वडासदस्यमा परिणाम निकालेको विगतलाई आधार मानेको छ । अहिलेको अवस्थामा दलहरू एक्लाएक्लै मैदानमा रहँदा आफ्नो पक्षमा मतदाता रहेको दाबी छ । ‘एमालेको पक्षमा मतदाताको रेस्पोन्स एकदमै राम्रो छ । हामी आफ्नै प्रचारमा व्यस्त छौँ, अरू दल र प्रतिस्पर्धी उम्मेदवारबारे लेखाजोखा गर्न भ्याएका छैनौँ । मतदाता नै एमालेलाई मत दिन उत्साहित हुनुहुन्छ । हाम्रो लागि यही नै परिणाम ल्याउने आधार हो,’ एमाले उम्मेदवार लक्ष्मीरत्न तुलाधरले भने ।
एकीकृत समाजवादीले भने एमालेलाई मुख्य प्रतिस्पर्धी देखेको छ । एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धर एकीकृत समाजवादीप्रति मतदाताको प्रतिक्रिया र एमालेले पाउने मत तान्न आफू योग्य रहेको दाबी गर्छन् । यस क्षेत्रमा माओवादीले एकीकृत समाजवादीलाई समर्थन गरेको छ । ‘यसअघिको स्थानीय तह निर्वाचन र अहिलेको उपनिर्वाचन एकदमै फरक छ, दलहरू एक्लाएक्लै मैदानमा छन् । मलाई माओवादीको समर्थन छ । हाम्रो प्रतिस्पर्धा भनेको एमालेसँग हो । यसअघि एमालेमा रहेर काम गरेकाले पनि एमालेलाई टक्कर दिन सक्ने उम्मेदवारका रूपमा मैदानमा छौँ । वडावासीले एकदमै रुचाउनुभएको छ,’ मानन्धरले भने ।
रास्वपाले पुराना दलप्रतिको निराशालाई आफ्नो मतको आधार मानेको छ । रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले घरदैलोका क्रममा मतदाताको मनसाय रास्वपाको परिणाम ल्याउने आधार रहेको जिकिर गरिन् । रास्वपालाई स्वतन्त्र उम्मेदवार प्रकाश पन्तले उम्मेदवारी निष्क्रिय गरेर श्रेष्ठलाई समर्थन गरेका छन् । ‘प्रचारप्रसारलाई घरदैलोमै केन्द्रित गरेका छौँ । मतदातामा पुराना दललाई धेरै हेरियो, तर अपेक्षाअनुसार काम हुन सकेन भन्ने निराशा देखिन्छ । नयाँ दललाई नै हाम्रो साथ रहन्छ भन्नुभएको छ । सकारात्मक प्रतिक्रियाले र उत्साहित माहोलले हामीलाई ऊर्जा दिएको छ,’ उनले भनिन् ।
अर्का स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठ आफू दलका उम्मेदवारको विकल्प बन्ने दाबी गर्छन् । ‘व्यक्तिगत रूपमा मैले गरेको सामाजिक कार्यबाट वडावासीलाई सेवा गर्दै आएको छु । जितेपछि तलब–भत्ता नलिई सेवा गर्नेछु । घोषणापत्रमा मैले गरेको प्रतिबद्धता हेरेर मतदाताले मत दिनुहुन्छ । जित्ने उम्मेदवार मै हो,’ उनले भने ।
निर्वाचन आयोगका अनुसार वडा नम्बर १६ मा २१ हजार ६२५ मतदाता छन् । यहाँ भित्री र बाहिरी सहर, पुरानो नेवार बस्ती र बाहिरबाट बसाइँसराइ गरेर आएका मिश्रित मतदाता छन् । मतदानका लागि दुई दिन मात्रको समय रहँदा पनि यस क्षेत्रका मतदाता भने अनिर्णीत देखिन्छन् ।
पकनाजोलका रविन महर्जन दल या स्वतन्त्रमध्ये उपयुक्त व्यक्ति छनोट गर्नुको विकल्प नरहेको बताउँछन् । ‘मत माग्न नयाँ–पुराना सबै उम्मेदवार घरघर आएका छन् । ‘राइट मेन, राइट प्लेस’का लागि विवेक प्रयोग गर्ने अवसर छ । तर, कसलाई दिने भन्ने सोच्नुपर्ने विषय छ,’ उनले भने । वनस्थलीकी सरस्वती पराजुली भने पुराना दललाई अवसर दिँदा परिणाम नल्याएको विगतले निराशा ल्याएको बताउँछिन् । तर, नयाँका नाममा आएकालाई पनि विश्वास गर्ने अवस्था नरहेको उनको भनाइ छ । ‘जनमतबाट दलहरूलाई दण्ड र पुरस्कृत गर्ने समय हो । पुराना र नयाँ मात्रको आधारमा भोट दिने अवस्था छैन । अवसर दिएकाले काम गरेनन् । नयाँ भन्दैमा काम गर्लान् भन्ने पनि केही ग्यारेन्टी छैन,’ उनले भनिन् । चःमतिका आशामान तुलाधर अब विवेक बन्धक राखेर मत दिने समय नरहेको तर्क गर्छन् । ‘परम्परागत रूपमा भोट प्याटर्न अहिले रहेन । मतदाताको विवेकले जसलाई मत दियो उही आउने हो । पुरानाले नराम्रै गरे भन्ने पनि छैन । नयाँले गरिहाल्लान् भन्ने पनि छैन । अब विवेक बन्धक राखेर मत दिने समय छैन,’ उनले भने ।
ग्रामथान गाउँपालिकामा ठुला दललाई शक्ति परीक्षणको चुनौती
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि हुन गइरहेको उपनिर्वाचनलाई ठुला दलहरूले आफ्नो शक्ति परीक्षण भन्दै चुनौतीका रूपमा लिएका छन् । त्यसैले ठुला दलका केन्द्रीयस्तरका नेतासमेत घरदैलोमा हिँडेका छन् । २६ हजार ४४ मतदाता रहेको ग्रामथान गाउँपलिकामा एक स्वतन्त्रसहित १६ जना अध्यक्ष पदका उम्मेदवार मैदानमा छन् । धान काट्ने मुख्य सिजन भएकाले उम्मेदवारहरू खेतखलामै गएर मतदातासँग भेटघाट गरेर मत मागिरेहका छन् ।
ग्रामथानमा कांग्रेस, एमाले र माओवादीबिच त्रिपक्षीय प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । कांग्रेसले बलराम सरदार, एमालेले तुलसीराम विश्वास र माओवादीले नमोनारायण माझीलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट विजयी ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको १० माघ ०८० मा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । ०७९ को निर्वाचनमा ग्रामथानमा कांग्रेसका गच्छदार सात हजार ६५० मत पाएर अध्यक्षमा विजयी भएका थिए ।
कांग्रेसका उम्मेदवार सरदारलाई मत माग्न महामन्त्री विश्वप्रकाश शर्मा, महिला नेतृ डिला संग्रौला, गुरुराज घिमिरे, मोरङ अध्यक्ष डिकबहादुर लिम्बू, उपाध्यक्ष भक्ति माझी थारू, सचिव मोदनाथ घिमिरेलगायत घरदैलोमा सहभागी छन् । कांग्रेस विरासत जोगाउने अठोटका साथ चुनावी प्रचारप्रसारमा लागेको छ । पार्टीका उम्मेदवार विश्वासलाई भोट माग्न एमाले उपाध्यक्ष गुरु बराल, केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश इन्चार्ज शेरधन राईदेखि एमाले मोरङका पूर्वअध्यक्ष ऋषि पोखरेल, अध्यक्ष बाबुराम कार्कीलगायत घरदैलोमा हिँडेका छन् । एमाले यसपालि ग्रामथानमा जसरी पनि अध्यक्ष जितैरै छाड्ने रणनीतिमा लागेको छ ।
माओवादीबाट उम्मेदवार बनेका माझीको घरदैलोमा पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, नेता गिरीराजमणि पोखरेल, केन्द्रीय सदस्य गोपीबहादुर अछामी, प्रदेश सांसदहरू गणेश उप्रेती, गीता तिम्सिना, पूर्वमन्त्री अमनलाल मोदीलगायत खटिएका छन् ।
पुथा उत्तरगंगामा माओवादीविरुद्ध एमाले–कांग्रेस गठबन्धन
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका माओवादीको आधार इलाका मानिन्छ । उपाध्यक्ष पदमा माओवादीले नरपुरा बुढा पुन र कांग्रेस–एमालेले केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएका छन् । बिहीबार मध्यराति १२ बजेदेखि मौन अवधि सुरु हुनुअघि दलहरू अन्तिम प्रचारप्रसारमा जुटेका छन् ।
कांग्रेस–एमाले गठबन्धन जसरी पनि माओवादीका आधार इलाका भत्काउने रणनीतिमा लागेका छन् । माओवादी भने विरासत जोगाउन लागिपरेको छ । माओवादी उम्मेदवार पुनलाई एकीकृत समाजवादीले साथ दिएको छ । सत्तापक्ष र प्रतिपक्षी गठबन्धनका उम्मेदवार गाउँगाउँमा कोणसभा, पार्टी प्रशिक्षण, भेटघाट, टोलस्तरीय बैठक, मतदाता शिक्षाजस्ता कार्यमा लागेका छन् ।
माओवादी उम्मेदवार पुनले भौगोलिक विकटताले ठगिएको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा समाजवादको आधार तयार पारी एक घर एक करेसाबारी र एक घर एक फलफूल बगैँचा निर्माण गर्ने घोषणा गरेकी छिन् । साथै, संस्कृति र प्रकृत्तिमा आधारित भएर जीवन्त संग्रहालय बनाई स्थानीय अर्थतन्त्र वृद्धि गरी पर्यटन प्रवद्र्धनका लागि होमस्टे सञ्चालन गरेर युवालाई गाउँमै रोजगारी दिने उनले बताइन् । एमाले उम्मेदवार तुलाचनले भ्रष्टाचारमुक्त र नमुना गाउँपालिका बनाउने मुख्य एजेन्डा रहेको बताइन् । गाउँपालिकालाई अपांगमैत्री, किसानमैत्री बनाउने, अनुगमनमा जोड दिने, बजेट तर्जुमा गर्दा सबै वडा, बस्ती र लक्षित समूहलाई समान र न्यायोचित हुने गरी तयार पार्ने बताइन् ।