कुलमान हटाउन सरकारको हरप्रयास

बक्यौता उठाउन खोज्दा कुलमान घिसिङमाथि सरकारको जहिल्यै अंकुश

बुधबार, १२ मंसिर, २०८१
डिजिटल संस्करण

सरकारले उद्योगीको अनुकूलमा काम गर्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रयास सुरुदेखि नै गर्दै आएको छ । संसद्को रोस्टमबाट कुलमानको सार्वजनिक आलोचना गरेका प्रधानमन्त्री केपी ओलीले कुलमानलाई हटाउन संसद्को सार्वजनिक लेखा समितिलाई नै दुरुपयोग गरे ।

समिति सभापति एमालेकै ऋषिकेश पोखरेलले यसअघि नै समितिबाट निर्णय र निर्देशन भइसकेको डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी फाइल प्राधिकरणबाट पुनः झिकाए र उद्योगीहरूको स्वार्थअनुसार सिंहदरबारबाहिरै निर्णयको ड्राफ्ट गरेर समितिबाट अनुमोदन गराउन खोजे ।

त्यसमा सत्तासाझेदार कांग्रेसकै असहयोग भएपछि कुलमान हटाउने प्रयास असफल भएको थियो । अल्पमतमा पर्ने भएपछि बैठक स्थगित गरेका सभापति पोखरेलले त्यसपछि बैठकसमेत राख्न सकेका छैनन् ।

कुलमानलाई हटाउने अर्को प्रयासस्वरूप ओलीले ६ मंसिरमा मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर प्राधिकरणमा भएको अनियमितता छानबिन गर्ने भन्दै समिति नै गठन गरेका छन् ।

पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएका हुन् । तर, अन्य दुई सदस्य थप गर्न बाँकी छँदै पोखरेलले जिम्मेवारी लिन अस्वीकार गरिसकेका छन् । पूर्णता नपाउँदै समिति नै अलपत्र परेको छ ।  

बक्यौता उठाउन खोज्दा कुलमान घिसिङमाथि सरकारको जहिल्यै अंकुश

उद्योगीसँग बक्यौता उठाउन प्राधिकरणले गरेको हरेकपटकको कोसिसमा सरकारले अंकुश लगाउँदै आएको छ । केपी ओली प्रधानमन्त्री नियुक्त हुनुअघि नै ६ उद्योगमा लाइन काटेर बक्यौता तिर्न दबाब दिएको प्राधिकरणमाथि नयाँ सरकार बनेदेखि नै अवरोध भएको छ ।

३० असारमा प्रधानमन्त्री नियुक्त भएपछि ओली र ऊर्जामन्त्री दीपक खड्का खुलेरै उद्योगीको पक्षमा उत्रिए । ४ साउनमा उद्योगीहरूकै अगाडि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्रधानमन्त्री ओलीले काटिएको लाइन जोड्न ठाडो निर्देशन दिए ।

तर, कुलमानले मन्त्रिपरिषद् वा मन्त्रालयको निर्णय आवश्यक पर्ने अडान लिएपछि प्राधिकरण सञ्चालक समितिले निर्णय गर्न सकेन । ६ साउनमा ओलीले ‘प्राधिकरणले मनपरी महसुल उठाउन नपाउने’ भन्दै संसद्कै रोस्टमबाट घोषणा गरे ।

त्यही दिन विद्युत् नियमन आयोगको बैठकबाट लाइन जोड्न प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरायो । त्यसकै आधारमा ८ साउनमा प्राधिकरणले तीन महिनाभित्र बक्यौता उठाउने गरी लाइन जोड्ने, नतिरे पुनः लाइन काट्ने निर्णय गर्‍यो ।

उद्योगीलाई दिइएको तीन महिनाको समयावधिमा पनि बक्यौता नतिरेपछि ८ कात्तिकमा प्राधिकरणले त्यस्ता ४३ उद्योगको लाइन काटिदियो । लगत्तै १० कात्तिकमा बक्यौता नतिर्ने उद्योगीको घरमा समेत बिजुली काट्ने चेतावनी दियो । यसबाट सरकार थप रुष्ट भयो ।

तर, प्राधिकरणले उद्योगीहरूलाई सहज बनाउन ५६ किस्तामा बक्यौता तिर्न सक्ने सुविधा दिने निर्णय लियो । त्यसअघि २८ किस्ताको सुविधा थियो । तैपनि राजनीतिक लबिङमा रहेका उद्योगी किस्ता तिर्न आएनन् ।

यहीबिचमा २५ कात्तिकमा मन्त्रिपरिषद् बैठकले बिजुली काटिएको उद्योगमा लाइन जोड्न र १५ दिनभित्र बक्यौता उठाउन निर्देशन दिने निर्णय गर्‍यो । लगत्तै प्राधिकरण बोर्डले गरेको निर्णयअनुसार २८ कात्तिकमा बिजुलीको लाइन जोडियो ।

१५ दिनको पछिल्लो अल्टिमेटम बुधबार सकिँदै छ । तर, फेरि सरकार उद्योगीकै पक्षमा उभिएको छ । सरकारले विद्युत् नियमन आयोगमार्फत मंगलबारै प्राधिकरणलाई पत्र पठाएर लाइन नकाट्न भनेको छ । यसअघि ऊर्जा मन्त्रालयले बक्यौता पुनः प्रमाणीकरण गर्न भन्दै ३ मंसिरमा गठन गरेको समितिलाई देखाएर आयोगले प्राधिकरणलाई पत्र पठाएको हो ।

आयोगबाट गएको पत्रबारे बुधबार प्राधिकरण बोर्ड बैठक बस्दै छ । बोर्डको अध्यक्ष उनै ऊर्जामन्त्री खड्का छन्, जसले बक्यौता पुनः प्रमाणीकरण गर्न भन्दै तीन सदस्यीय समिति बनाए । 

उद्योगीलाई छुट दिने ‘नियत’साथ प्राधिकरण र आयोगलाई बाइपास गरेर बनाइएको समितिमा को–को छन् ? 

प्राधिकरण र नियमन आयोगलाई बाइपास गरेर ऊर्जामन्त्री दीपक खड्काले बक्यौता जाँचबुझ समिति गठन गर्नुमा उद्योगीलाई बक्यौतामा छुट दिने स्वार्थ मिसिएको छ । समितिमा नेसनल कलेज अफ इन्जिनियरिङका प्रा.डा. अरविन्दकुमार मिश्र संयोजक छन् भने प्राधिकरणकै पूर्वकर्मचारी श्रीरामराज पाण्डे र चार्टर्ड एकाउन्टेन्ट सुजनकुमार काफ्ले सदस्य छन् ।

समितिलाई टाइम अफ डे (टिओडी) मिटरसमेतका आधारमा ०७२ माघदेखि ०७५ वैशाखसम्ममा उद्योगीको बक्यौता महसुल निक्र्याेल गर्न आवश्यक सत्यतथ्य विवरण तथा प्रमाण संकलन र प्रमाणीकरण गर्न मुख्य कार्यादेश छ । तर, जाँचबुझ गर्ने नाममा उद्योगीको बक्यौता घटाउने तयारी रहेको स्रोतले बतायो ।

जब कि विद्युत् नियमन आयोग ऐन, २०७४ ले जाँचबुझ तथा निरीक्षण गर्ने अधिकार स्पष्ट रूपमा आयोगलाई दिएको छ । ऐनको दफा १७ अनुसार अनुमति प्राप्त संस्था (प्राधिकरणलगायत)हरूले ऐन र ऐनअन्तर्गतका नियम, विनियम, निर्देशिका वा मापदण्ड तथा प्रचलित अन्य कानुन वा सर्तबमोजिम कार्य गरे/नगरेको सम्बन्धमा आयोगले आवश्यक जाँचबुझ तथा निरीक्षण गर्न वा गराउन सक्नेछ ।

यसअनुसार पछिल्लो बक्यौता विवादको जाँचबुझ गर्न/गराउन सक्ने अधिकार आयोगसँग थियो । तर, मन्त्रालयले ऊर्जासम्बन्धी सरकारी निकायहरूको संयन्त्रबाहिरबाटै प्राधिकरणले जारी गरेको बिल जाँच गराउने निर्णय लिएको छ । 

सुझावित समाचार