हिरासतबाट रविले भने– प्रतिशोधपूर्वक सिंगो राज्य संयन्त्र मविरुद्ध लाग्यो

गोर्खा मिडियाबाट भएका कारोबारमा जवाफदेही रहेको, तर सहकारीबाट पैसा ल्याउने कार्यमा संलग्न नरहेको जिकिर

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट भएका आर्थिक कारोबारबारे आफू जवाफदेही रहेको, तर सहकारीबाट पैसा ल्याउने कार्यमा आफ्नो कुनै संलग्नता नरहेको दोहोर्याएका छन् । सिंगो राज्य संयन्त्र आफूविरुद्ध लागेको उनको गुनासो छ । 

रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले सोमबार कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई भेटेका थिए । ‘गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेन्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी वा व्यक्तिका हकमा मेरो जवाफदेहिता रहन्छ । प्रचलित कम्पनी ऐनबमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट म विमुख हुन्छु भनेको छैन, हुन्नँ । तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले भनेका छन् ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले समेत सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने प्रक्रियामा आफ्नो संलग्नता नरहेको ठहर गर्दा पनि सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरी प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा लगाउन लागिएको भन्दै लामिछानेले आपत्ति जनाएका छन् । ‘निजी क्षेत्र विश्वासमा चल्छ । मैले हस्ताक्षर गरेका चेकहरू गोर्खा मिडियाका चेकहरू हुन् । कम्पनी ऐनको अधीनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु । सहकारीका कुरा सहकारीका मान्छेले जानून् । सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ । ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा लगाइँदै छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै झाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राज्यले प्रतिशोधपूर्ण व्यवहार जारी राखे आफ्नो पार्टीले आन्दोलनको स्वरूप फेर्ने चेतावनी पनि लामिछानेले दिएका छन् । ‘मचाहिँ नागरिकले दुःख नपाऊन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलनसमेत नगर्नु भन्ने, अनि मेराविरुद्ध सिंगो राज्य सुनियोजित भएर लागिरहने ? यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नांगो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायालयमा पनि चल्छ भन्दै खुल्लमखुल्ला तर्साउने हो भने हामीले विश्वास गरेको नीलो क्रान्तिको रंग बदल्नुपर्ने हुन सक्छ,’ उनले भनेका छन् । 

आफूमाथि अन्यायको सीमारेखा पार भइसकेको भन्दै लामिछानेले शक्ति प्रदर्शन बन्द गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ‘गैरकानुनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधिवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु । अन्यायका कैयौँ सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस् । मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ,’ लामिछानेको भनाइ उद्धृत गर्दै कार्यवाहक प्रवक्ता झाले भनेका छन् ।

See More On

सुझावित समाचार