भन्सार दर घटेपछि सुनको मूल्यमा एकै दिन १५ हजार नौ सयको गिरावट

मंगलबार, ११ मंसिर, २०८१
डिजिटल संस्करण

अवैध व्यापार नियन्त्रण हुने अपेक्षा, तत्काल दुई सय किलो सुन आयात गर्ने वाणिज्य बैंकको तयारी 

सरकारले सुनको भन्सार दरमा ५० प्रतिशत कटौती गरेपछि नेपाली बजारमा सुनको मूल्य एकै दिनमा तोलामा १५ हजार नौ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँमा किनबेच भएको छ । आइतबार सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार थियो । सम्भवतः नेपाली बजारमा सुनको मूल्यमा एकै दिनमा आएको यो गिरावट हालसम्मको उच्च हो ।

आइतबारसम्म सुनको आयातमा लाग्ने भन्सार महसुल दर २० प्रतिशत थियो । तर, सोमबारदेखि लागू हुने गरी त्यसलाई १० प्रतिशतमा सीमित राखिएको छ । सोही कारण सुनको मूल्यमा कमी आएको महासंघका अध्यक्ष अर्जुन रसाइलीले बताए ।

नेपालमा भन्सार दर र अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा सुनको मूल्य निर्धारण गरिन्छ । सरकारले भन्सार महसुल दर घटाएपछि लागत पनि घट्न गई मूल्य घटेको उनको भनाइ छ । यस्तै, सोमबार चाँदीको मूल्य पनि एक सय १५ रुपैयाँले घटेर प्रतितोला त्यो १८ सय ४५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको आयातमा लाग्ने भन्सार महसुल दर १५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरिएको छ ।

यसअघि नेपाल र भारतमा सुनमा लगाइएको भन्सार महसुल दर १५–१५ प्रतिशत थियो । नेपालको पछिल्लो बजेट (१५ जेठ ०८१) मार्फत त्यसलाई बढाएर २० प्रतिशत पुर्यायो । त्यसपछि आएको भारतको बजेटले भने सुनको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशत बनायो । साथै, भारतमा सुन आयात गर्दा थप ३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) पनि लाग्छ । यसरी नेपालमा भन्दा कम कर लाग्ने भएपछि भारतमा सुन सस्तो भयो । जसले गर्दा सीमा क्षेत्रका नेपालीले भारतमै गएर सुनका गरगहना बनाउन थाले । साथै, भारतमा सस्तोमा सुन खरिद गरी भन्सार छलेर नेपालमा तस्करी हुन थालेको आशंका गरिएको थियो । त्यसरी नेपाली बजारमा अवैध सुन परिचालन भएको आशंकापछि सरकारले सुन र चाँदीमा लगाएको भन्सार दर घटाएको हो ।

अब नेपाल र भारतमा सुनको मूल्यमा कति फरक ? 
भन्सार महसुल घटे पनि नेपाल र भारतमा १० ग्राम सुनको मूल्यमा चार हजार रुपैयाँको अन्तर छ । यसअघि यस्तो मूल्यमा १६ हजार रुपैयाँको अन्तर थियो । 

भन्सार दर घटाउनुअघि आइतबार भारतमा १० ग्राम सुनको मूूल्य ७९ हजार ६ सय ४० भारु (एक लाख २७ हजार चार सय २४ नेपाली रुपैयाँ) थियो । सोही दिन नेपालमा १० ग्राम सुनको मूल्य एक लाख ४३ हजार तीन सय ४५ रुपैयाँ थियो ।  

भन्सार दर घटाएपछि अर्थात् सोमबार भारतीय बजारमा १० ग्राम सुनको मूल्य नेपाली रुपैयाँमा एक लाख २५ हजार ६ सय ८० रुपैयाँ थियो । सोही दिन नेपाली बजारमा एक लाख २९ हजार सात सय १५ रुपैयाँ छ ।  

यसरी विगतमा नेपालमा भन्दा भारतमा सुनको मूल्य धेरै नै कम भएपछि तस्करी बढेको आशंका गरिएको थियो । अहिले नेपाल र भारतमा सुनको मूल्यमा आंशिक मात्रामा मात्रै फरक देखिएको छ, त्यसले गर्दा अवैध रूपमा सुन भित्रिने प्रवृत्ति नियन्त्रण हुने सरकारको अनुमान छ । 

पुरानो अर्डर रद्द हुन थाल्यो, तर नयाँ माग बढ्ने अपेक्षा 
एकैपटक सुनको मूल्य उच्च मात्रामा घटेपछि सुनचाँदी पसलमा पुराना अर्डरहरू रद्द हुन थालेका छन् । पुराना अर्डरहरू पुरानै मूल्यअनुसार खरिद गर्नुपर्ने कारण ग्राहकले अर्डर रद्द गर्न थालेको रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्ताले बताए । महासंघका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले पनि यसले औपचारिक रूपमा गरिने सुनको कारोबार बढ्ने बताए । ‘भन्सार महसुल बढी हुँदा सुनको मूल्य पनि उच्च रहेकाले तस्करीबाट सुन बजारमा आएको थियो । यसले औपचारिक सुनको कारोबारलाई नै विस्थापित गरेको थियो । अब भन्सार महसुल कम भएसँगै औपचारिक रूपमा गरिने सुनको कारोबारमा वृद्धि हुने अपेक्षा छ,’ उनले भने, ‘साथै, ग्राहकबाट सुनको गरगहनाको माग पनि बढ्न सक्छ । अधिकांश ग्राहकले खरिद नै गर्न नसक्ने गरी सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार रुपैयाँभन्दा माथि गएको थियो । त्यो त अहिले डेढ लाख हाराहारीमा आएको छ । यसले माग बढाउँछ भन्ने अपेक्षा छ ।’

दुई सय केजी सुन आयात गरिँदै 
भन्सार दर घटेसँगै वाणिज्य बैंकहरू तत्काल दुई सय किलो सुन आयात गर्ने तयारीमा छन् । बैंकहरूले दैनिक २० किलो सुन आयात गर्न पाउँछन् । सोहीअनुसार बैंकहरूले मंसिर १ गतेदेखि १० गतेसम्मको कोटाबाट दुई सय किलो सुन आयात गर्ने तयारीमा छन् ।

नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले सोमबार नै सुन आयातका लागि माग गर्न प्रस्ताव पेस गर्न बैंकहरूलाई आह्वान गरेको बताए । 

‘मंसिर १० गतेसम्मको कोटाअनुसार अहिले तत्काल दुई सय किलो सुन आयात गर्न पाउँछौँ । त्यसमा सय किलो बागमती प्रदेश र सय किलो अन्य प्रदेशलाई आयात गर्ने हो । सोहीअनुसार बैंकहरूलाई सुन आयातका लागि प्रस्ताव आह्वान गरेका छौँ,’ उनले भने ।

चालू आवको चार महिनामा सुनको आयात परिमाणका आधारमा ८७ प्रतिशतले घटेको छ । गत आवको पहिलो चार महिनामा एक हजार केजी पाँच सय ग्राम सुन आयात भएको थियो । तर, चालू आवको चार महिनामा एक सय ३२ केजी पाँच सय ६४ ग्राम सुन आयात भएको छ ।

कोटा कायमै राख्दा अवैध बजारीको जोखिम भने कायमै 
सरकारले अवैध सुन र बजार नियन्त्रण गर्ने गरी भन्सार महसुल घटाए पनि कोटा प्रणालीका कारण तस्करी नियन्त्रण नहुने रिद्धिसिद्धिका सञ्चालक गुप्ताले बताए । ‘दैनिक २० किलो सुन आयात गर्न पाइन्छ । तर, माग भने त्योभन्दा धेरै छ । त्यो अवस्थामा माग पूर्ति गर्नका लागि बैंकमै भएको सुनमा पनि कार्टेलिङ हुन सक्छ । पहुँचवालाले उक्त सुन लिएर अन्य व्यवसायीलाई महँगोमा बिक्री गर्न सक्छ,’ उनले भने, ‘साथै, २० केजी सुनले त नेपाली बजारको माग धान्न सक्दैन । त्यो अवस्थामा माग धान्न अवैध रूपमा सुन भित्र्याउने जोखिम पनि उच्च देखिन्छ । तसर्थ, सरकारले सुन आयातमा लगाएको कोटा पनि तत्काल हटाउनुपर्छ । भन्सार महसुल दर घटाएकै कारण यो समस्या समाधान हुने देखिन्न ।’

यसरी हुन्छ सुनको मूल्य निर्धारण
नेपालमा विशेष गरी लन्डन, अमेरिकालगायतका बजारमा कायम सुनको मूल्यका आधारमा मूल्य तोकिन्छ । महासंघले ०४४ देखि सुनको मूल्य निर्धारण गर्दै आएको छ । पहिला सुनको अन्तर्राष्ट्रिय बजारमा मूल्य र नेपालमा कायम डलरको मूल्यलाई एक–आपसमा गुणन गरिन्छ । त्यसरी आउने रकममा बैंकको आयात खर्च (ढुवानी, बिमाशुल्क, सुरक्षा खर्चलगायत) जोडिन्छ । साथै, नेपाल सरकारले लिने राजस्व पनि त्यसमा समावेश गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको अभाव भएको अवस्थामा प्रिमियमसमेत जोडिन्छ । त्यसरी आउने मूल्यमा बैंक र व्यवसायीका लागि थप ०.५–०.५ प्रतिशत नाफा राखेर सुनको अन्तिम मूल्य निर्धारण गरिन्छ । महासंघले यसरी नै दैनिक सुनको मूल्य निर्धारण गर्दै आएको छ । 
 

See More On

सुझावित समाचार