कैलालीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ‘धान जोन’ मा उत्पादन घटेको छ। अघिल्लो वर्षको तुलनामा यस वर्ष बर्खे धान उत्पादनमा कमी आएको हो।
गत वर्ष ‘धान जोन’ मा चार हजार २१६ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष तीन हजार ६८८ मेट्रिक टन मात्रै धान उत्पादन भएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका सूचना अधिकारी लक्ष्मी शाहले जानकारी दिए।
उनका अनुसार जिल्लामा ८०० हेक्टर क्षेत्रफलमा ‘धान जोन’ सञ्चालनमा रहेको छ। क्षेत्रफल एउटै भए पनि गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ५२८ मेट्रिक टनले कमी आएको उनले जानकारी दिए। उत्पादन घटेसँगै उत्पादकत्व घटेको छ।
गत वर्ष ‘धान जोन’ मा बर्खे धानको उत्पादकत्व पाँच दशमलव २७ मेट्रिक टन प्रतिहेक्टर रहेकामा यस वर्ष उत्पादकत्व घटेर चार दशमलव ६१ मेट्रिक टन प्रतिहेक्टर भएको सूचना अधिकारी शाहले जानकारी दिए। धान संकलन गर्ने समयमा भएको वर्षाले धानमा पुर्याएको क्षतिका कारण उत्पादनमा कमी आएको उनले बताए। कैलालीमा ‘धान जोन’ आव ०७८/७९ बाट सुरु भएको थियो।
‘धान जोन’ जिल्लाका जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न नौ वडामा सञ्चालनमा छ। लागत घटाएर कृषि आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन ५० प्रतिशत अनुदानमा किसानलाई बिउ, विषादी, कृषियन्त्र उपकरण वितरण गर्ने गरिएको छ। साथै, परियोजनाले प्राविधिक सहयोग गर्ने गरेको जनाइएको छ।
जिल्लामा आव ०७३/७४ बाट ‘गहुँ सुपरजोन’ र आव २०७४/७५ बाट ‘तेलहन जोन’ सञ्चालनमा रहेको छ। ‘गहुँ सुपरजोन’ जिल्लाको कैलारी गाउँपालिका, गौरीगंगा गाउँपालिका र घोडाघोडी नगरपालिकाका विभिन्न १८ वडामा तथा ‘तेलहन जोन’ जानकी, जोशीपुर र बर्दगोरिया गाउँपालिका, भजनी र घोडाघोडी नगरपालिकाका विभिन्न २९ वडा सञ्चालनमा रहेको जनाइएको छ।