प्रेरक प्रसंग : हेनरी ड्युना र रेडक्रस

बिहिबार, ६ मंसिर, २०८१
डिजिटल संस्करण

यो विषय त्यतिवेलाको हो, जतिवेला इटली र अस्ट्रियाबिच घमासान रक्तपातपूर्ण युद्ध चलिरहेको थियो । दुवैतर्फका सैनिक जसरी पनि युद्धमा विजय हात पार्ने धुनमा लडिरहेका थिए । यस भयानक युद्धमा दुवैतर्फका हजारौँको ज्यान गइरहेको थियो भने हजारौँ सिपाही घाइते पनि भइरहेका थिए । तर, मृत्यु भएका र घाइते सिपाहीको कसैलाई कुनै पर्वाह थिएन । बाँचेका सिपाही पनि युद्ध जित्ने ध्याउन्नसाथ अघि बढिरहेका थिए । जसले गर्दा मृतकको दाहसंस्कार र घाइतेको उद्धार तथा उपचार सम्भव भएन । 

यस्तो भयावह परिस्थितिबाट स्विस बैंकका एक कर्मचारी जाँ हेनरी ड्युना मनैदेखि विचलित भए । उनले तत्कालै यसको समाधानका लागि एउटा उपाय सोचे । उनले आफ्नो जागिरबाट राजीनामा दिए । उनले जेनेभाको एक स्थानमा एउटा फार्म खरिद गरे । उनले युद्धरत इटली र अस्ट्रिया दुवै पक्षसित सम्पर्क गरेर घाइतेको उपचार र मृतकको दाहसंस्कारको जिम्मा आफूहरूलाई दिन दुवै पक्षलाई मनाए । उनले यस प्रयासको नाम रेडक्रस राखे । यसको सुरुवात निकै सानो रूपमा भएको थियो । तर, त्यसपछिका युद्धमा यस संस्थाको उपयोगिता व्यापक रूपमा बढ्दै गयो । अनेक देशका सरकारले यस संस्थालाई सहयोग पनि गरे । युद्ध क्षेत्रबाट घाइते र मृतकलाई उठाउन जाने रेडक्रसका कर्मचारी र सवारी साधनलाई निर्बाध आवतजावत गर्न दिने आचार संहितामा धेरैले स्वीकृति जनाए । 

आज रेडक्रसको कार्यक्षेत्र क्रमशः फैलिँदै गएको छ । यस संस्थाले विश्वका हरेक देशमा आफ्नो उपस्थिति जनाइसकेको छ । यसले युद्ध क्षेत्रमा मात्र होइन, प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा पुगेर प्रभावितलाई सहयोग गर्नेलगायत मानवीय सहायताको काम गर्दै आएको छ । यस संस्थाको फैलावटको श्रेय ड्युनालाई नै जान्छ । यस संस्था नोबेल शान्ति पुरस्कारद्वारा समेत सम्मानित भइसकेको छ ।

सुझावित समाचार