चीन तथा सार्कका विद्यार्थीलाई डा. संग्राैलाको सुझाव : अमेरिकी भिसाको पछि नलागौँ, हाम्रै क्षेत्रलाई शक्तिशाली र सम्पन्न बनाऔँ

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता प्राडा युवराज संग्रौलाले चीनसहित दक्षिण एसियाली देशका युवा तथा विद्यार्थीहरूलाई अमेरिकी भिसाको पछि नलाग्न आग्रह गरेका छन्।

काठमाडौं स्कुल अफ ल र रसियन हाउसले संयुक्त रूपमा आयोजना गरेको ‘अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा बहुध्रुवीयता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। सो क्रममा उनले युवा तथा विद्यार्थीहरूबाट आफ्नो देश र दक्षिण क्षेत्रकै सबलताका लागि लागिपर्ने प्रतिबद्धतासमेत लिएका थिए।

भारत र चीनमा गाँजरको ठुलो माग रहेको र नेपालमा यसको उत्पादनको सम्भावना रहेको उदाहरण दिँदै उनले परस्पर सहयोग र बजार सम्भावनाले यो क्षेत्रलाई जुरुक्कै उठाउन सकिने बताए। ‘गाँजर उत्पादनमा लाग, अमेरिकी सपना त्यागिदेउ’ नेपाली विद्यार्थीलाई लक्षित गर्दै उनले भने।

अन्तर्राष्ट्रिय सम्बन्धका जानकार रचित मुरारकाले अबको समय दक्षिणको भएको बताए। पश्चिमा शक्ति आफैँमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उनको दाबी थियो। ब्रिक्सविज्ञ परिषद्का प्रमुख पवन कुमारले ब्रिक्स राष्ट्र तथा दक्षिणका लागि लागानीको राम्रो वातावरण बनिरहेको उल्लेख गरे।

विद्यार्थी र जानकारहरूबिच यसबारे लामै सवाल–जवाफ र छलफलसमेत भएको थियो। बहस बहुध्रुवीय विश्वको पक्षमा केन्द्रित थियो। वक्ताहरूले पश्चिमा शक्तिलाई चुनौती दिँदै दक्षिणको हितलाई प्राथमिकता दिने कार्यमा ब्रिक्सले अगुवाइ गर्ने बताएका थिए। अन्तर्क्रिया कार्यक्रममा चीन, भारत, नेपाल, बंगलादेशलगायतका प्राध्यापक तथा युवा विद्यार्थीहरूको सहभागिता थियो।

सुझावित समाचार