सिस्नेरी एन्फा एकेडेमीका पीडित परिवार भन्छन्–आठ लाख होइन, न्याय दिनुस्

बुधबार, ५ मंसिर, २०८१
डिजिटल संस्करण

गत १२ असोजमा मकवानपुरको सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले चलाएको एन्फा एकेडेमीका ६ बालक खेलाडीले पहिरोमा ज्यान गुमाएका थिए । राष्ट्रिय खेलाडीको सपना बोकेका ती बालकले ज्यान गुमाएको मंगलबार ५३औँ दिन भएको छ । पहिरोमा प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो ।

बालकका अभिभावकहरूले अहिलेसम्म आफूहरूले न्याय नपाएको दाबी गरेका छन् ।एन्फाले घटनालाई सामान्यीकरण गर्न आठ लाख रुपैयाँको चेक दिएको उनीहरूको संयुक्त भनाइ रहेको छ । ‘घटनाको केही दिनपछि एन्फाका अध्यक्ष र महासचिवले हामीलाई आठ लाखबराबरको चेक दिने प्रयास गरे । के त्यो आठ लाखले हाम्रा बालकहरू फर्कन्छन्,’ पहिरोमा निधन भएका विकल रेग्मीकी आमा कमला रेग्मीले बुधबार पत्रकार सम्मेलनमा आक्रोश पोखिन्, ‘एन्फाले घटनालाई प्राकृतिक प्रकोपसँग जोड्ने प्रयास गर्यो । के हाम्रो सन्तानको मूल्य आठ लाख हो ? जुन कुरा एकदमै निन्दनीय छ । एन्फाले हामीलाई चोटमाथि चोट दिएको छ ।’ 

यद्यपि, सिस्नेरी घटनाको विषयलाई लिएर संसद्मा पनि छलफल नभएको होइन । संसद्मा छलफल चलेपछि राज्यबाट न्याय पाउने आशाले आफूहरू शान्त भएको उनीहरूका भनाइ छ । तर, घटनाको ५३ दिनसम्म कहीँबाट पनि सुनुवाइ नहुँदा आफूहरू न्याय माग्न हिड्नु परेको सुजन बलम्पाकीका अभिभावक भरतबहादुर थापाले बताए । ‘संसद्मै सिस्नेरी घटनाको विषय उठान भएपछि राज्यबाट न्याय पाउने आशा थियो,’ भक्कानिँदै थापाले भने, ‘हामी दोषीलाई कारवाही गराउन प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुदमन्त्री हुँदै प्रधानमन्त्रीसम्म पुग्यौँ, तर दुई महिना हुनलाग्यो अहिलेसम्म न्यायको भिख माग्दै हिँड्नु परेको छ ।’ 

‘प्रधानमन्त्रीले पीडा बुझ्न सकेनन्’
पीडित परिवारहरू प्रधानमन्त्री केपी शर्मा ओलीसँग घटनाको छानबिनसँगै दोषीमाथि कारबाहीको माग राखी भेट्न पुगेका थिए । प्रधानमन्त्री ओलीले तत्कालै छानबिन र दोषीलाई कारबाही हुने भनी आश्वस्त पार्दै उनीहरूलाई बालुवाटारबाट फर्काए । तर, अहिलेसम्म सरकारले घटनाका सम्बन्धमा केही नगरेको थापाले आरोप लगाएका छन् । ‘हामी यहाँ आफ्ना सन्तानमाथि भएको अन्यायको कुरा राख्न आएका हौँ । उनीहरूलाई न्याय मिलोस् भनेर न्यायको भिख माग्न आएका हौँ । सरकारले हाम्रो आँसु देखेन । प्रधानमन्त्रीले हाम्रो पीडा बुझेनन् । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि यति ठुलो लापरबाही भएको देखेन,’ उनले भने, ‘प्रहरी पहिलो दिनदेखि नै हाम्रा सन्तानमाथि भएको अन्याय लुकाउन लागिपरेको छ ।’

आन्दोलनको चेतावनी
सरकार र सम्बन्धित निकायबाट न्याय नपाउँदा आफू बाध्य भएर चरणबद्ध रूपमा आन्दोलन गर्न तयार भएको अनुपम घलानकी आमा ललिताले चेतावनी दिएकी छिन् । ‘सरकारले पनि न्याय नदिए हामी कडा आन्दोलन गर्न तयार छौँ । त्यसपछि केही भएन भने अदालतको ढोका ढकढक्याउनेछौँ,’ उनले भनिन् ‘अदालत जान हामीहरूसँग सबै प्रमाण सुरक्षित छ ।’ एन्फाको चरम लापरबाहीका कारण घटेको घटनाका लागि गठन भएको कमिटी अर्थहीन रहेको उनले बताइन् । सिस्नेरी एन्फा एकेडेमीमा ४० खेलाडी आबद्ध थिए । घटनाको दिन वार्डेनले खेलाडीलाई आउन सक्ने खतरालाई बेवास्ता गर्दै होस्टेलबाट बाहिर जान आदेश दिएको पीडित परिवारको दाबी छ । ‘आमा ! पानी आयो, मलाई बचाउनुहोस् भन्दै छोराले फोन गरेको थियो । सुरक्षित ठाउँमा सार्नुहोस् भन्दा त्यहाँको होस्टेल वार्डेनले केही हुँदैन भनेर नसारेको गुनासो गरिरहेको थियो,’ अनुपमकी आमा ललिता घलानले रुँदै भनिन्, ‘बिहान साँढे पाँच बजे वार्डेनले भाग भनेर भनेपछि बच्चा भागेका रहेछन् । विपत्तिको वेला हाम्रा छोराहरूलाई भारी झोला बोकाएर पठाए ।’ 

सुझावित समाचार