विधान सम्पादन गर्न माओवादीले गठन गर्यो कार्यदल

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

माओवादीले पार्टीको विधान सम्पादन र पालिका सम्मेलनको कार्यविधि बनाउन दुईवटा कार्यदल गठन गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा विधान सम्पादन कार्यदल गठन गरेको हो  । उक्त कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा छन् । 

माओवादीको विधान गत फागुनमा विधान अधिवेशनले अनुमोदन गरेको थियो । अधिवेशनको क्रममा विधानमा आएका सुझावलाई समेटेर अन्तिम रुप दिने प्रतिबद्धता अध्यक्ष प्रचण्डले जनाएका थिए । त्यही विषयलाई लिपीबद्ध गरेर सम्पादन गर्न कार्यदल गठन गरिएको माओवादीले जनाएको छ । 

कार्यदलले सम्पादन गरेपछि विधान निर्वाचन आयोगमा बुझाउने तयारी छ । आयोगमा तीन महले बनाएर पठाउनु पर्ने भएकाले सम्पादनका लागि कार्यदल गठन गरिएको नेताहरूले बताएका छन् ।

पालिका सम्मेलनको कार्यविधि बनाउन अर्को कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे छन् । 
‘विधान सम्पादन र पालिका सम्मेलनको कार्यविधि बनाउन बैठकले दुईवटा कार्यदल गठन गरेको छ । आज राजनीतिक विषयमा भन्दा प्राविधिक विषयमै छलफल भयो ।’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने । 

बैठकमा स्थानीय तह उपनिर्वाचनको विषयमा समेत छलफल भएको छ । बैठकमा प्रदेशगत रुपमा स्थानीय तह उपनिर्वाचनको रिपोर्टिङ भएको थियो । नेताहरुले पार्टीको पक्षमा माहोल बन्दै गएको बताएका छन् । पार्टीको अवस्था र अपनाउनुपर्ने रणनीतिबारे नेताहरुले बैठकमा ब्रिफिङ गरेका थिए ।
 

सुझावित समाचार