सहकारीपीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले गैरदलीय पहिचानसहित आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। पटक-पटक बचतकर्ताहरूलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लागेको रास्वपाको आरोप छ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले मंसिर ५ गते पीडितहरूको बचत रकम फिर्ता गराउने हेतुले काठमाडौंकेन्द्रित आन्दोलन गर्दै छ।
आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पार्टीले भनेको छ, ‘सहकारी समस्याको मूल कारण नै फितलो कानुन, भएको कानुनको इमानदार कार्यान्वयन नहुनु, पटक-पटक बचतकर्ताहरूलाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नु रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ।’
गत माघमा रास्वपाले प्रधानमन्त्रीलाई ‘सहकारी एवं लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना’ प्रतिवेदन बुझाएको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘...प्रतिवेदनमा पनि संस्थागत कुशासन, अपचलन गर्ने सहकारी सञ्चालकहरूको राजनीतिक संरक्षणलगायतका विषय प्रधानताका साथ उठाइएको छ।’