२५ प्रतिस्पर्धीलाई पछि पार्दै हेटौँडा उपमहानगरपालिका वडा नम्बर १४ का सञ्जीव मिजारले दोस्रो संस्करणको हेटौँडा रनको उपाधि जितेका छन्। उनले पाँच किलोमिटरको निर्धारित दूरी २० मिनेट २८ सेकेन्ड ९ मिलिसेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन्।
नगर खेलकुद विकास समितिको आयोजनामा भएको हेटौँडा रनको निर्धारित दूरी २० मिनेट ४२ सेकेन्ड ७२ मिलिसेकेन्डमा पूरा गर्दै हेटौँडा ५ का निश्चल तितुङ द्वितीय हुँदा २० मिनेट ५१ सेकेन्ड ९२ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै हेटौँडा १८ का अभिषेक रोक्का तृतीय भए। यस्तै, हेटौँडा– १८ का मनीष गोपाली चौथो र हेटौँडा १४ का अमृत सुनार पाँचौँ भए।
उपाधि विजेता मिजारले नगद २५ हजार, उपविजेता तितुङले १५ हजार र तृतीय रोक्काले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे। यसैगरी चौथो र पाँचौँ हुने गोपाली र सुनारले क्रमशः पाँच हजार र तीन हजार रुपैयाँ प्राप्त गर्दा महिला प्रतियोगी रुबी भुलन र राक्सिराङ गाउँपालिकाका सुवास योञ्जनले प्रोत्साहनस्वरूप नगद दुई-दुई हजार प्राप्त गरे।
हेटौँडाको बुद्ध चोकबाट सुरु भएको हेटौँडा रन कान्ति राजपथ, भैरवरोड, चिसापानी, शीतलमहल चोक हुँदै पुनः बुद्ध चोकमा पुगेर टुंगिएको थियो। विजेताहरूलाई हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरे जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख माधव कोइरालालगायतले पुरस्कार प्रदान गरेका थिए।