११ वर्षीया बालिका बलात्कार गरेकाे आरोपमा एकजना प्रहरी नियन्त्रणमा

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिका– १३ पानीसराकी एक बालिकामाथि बलात्कार भएको छ । निजगढ नगरपालिका– १३ डम्बरपुरस्थित आफन्तको घरमा बस्दै आएकी ११ वर्षीया बालिकालाई खानेकुरा किनिदिने भन्दै स्थानीय एक पुरुषले ललाइफकाई गरी गाउँनजिकैको खयरघारी जंगलमा लगेर आइतबार बलात्कार गरेको प्रहरीको भनाइ छ ।

ती बालिका केही दिनदेखि निजगढ नगरपालिका– १३ डम्बरपुरस्थित फुपूको घरमा बस्दै आएकी थिइन् । बलात्कार आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

मकवानपुर बकैया गाउँपालिका– २ घर भई हाल डम्बरपुरमै बस्दै आएका वर्ष ४१ का लालकुमार घलानलाई बलात्कारको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । लालकुमारले स्थानीय लालबहादुर गोलेको घरमा मजदुरी गर्दै आएका थिए ।

बालिका बलात्कारमा परेको खबर पाएपछि निजगढ– ११ रतनपुरीस्थित अस्थायी प्रहरी पोस्ट र निजगढबाट खटेको प्रहरी टोलीले घलानको खोजतलासको क्रममा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहले जानकारी दिए ।

बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले समेत बालिकाको बलात्कार भएको पुष्टि गरे । बलात्कृत बालिकाको अस्पतालबाट स्वास्थ्य अवस्था जाँच गरिसकिएको प्रहरीले बताएको छ ।

सुझावित समाचार