- सम्झौताबमोजिम ३० दिनमा गर्नुपर्ने सि–चेक गर्न ८३ दिन लगाइयो, नेवानिका उडान अस्तव्यस्त
- समयमा उडान नहुँदा यात्रुको रि–रुटिङ, होटेल खर्च, क्रु मेम्बरको भत्तालगायतमा ३८ प्रतिशत अतिरिक्त खर्च
१२ भदौमा सि–चेकका लागि इटाली पठाएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान ‘९एन–एलजेड’ सोमबार काठमाडौं फर्किएको छ । यदि इटालियन मर्मत कम्पनी एटिटेक एसपिएले सम्झौताबमोजिम काम गरेको भए जहाज ११ असोजमै नियमित उडानमा फर्किसकेको हुन्थ्यो ।
९ असारमा सि–चेककै लागि इटाली पठाइएको अर्को वाइडबडी विमान ‘९एन–एएलवाई’ मर्मतमा पनि ढिलासुस्ती गर्दा ८२ दिनपछि २५ भदौमा बल्ल नेपाल फर्किएको थियो । इटालीको नेपोल्समा वाइडबडी अलपत्र हुँदा नेपालमा चाडपर्व र पर्यटनको व्यस्त सिजन सुरु हुँदै थियो । दुवै वाइडबडी नेपाल फर्किँदा पर्यटकीय सिजन पनि सकिनै आँटेको छ ।
निगम नेतृत्वले एटिटेकसँग ३० दिनमा वाइडबडी विमान सि–चेक गर्ने सम्झौता गरेको थियो । तर, पहिलो वाइडबडी ८२ दिन र दोस्रो वाइडबडी ८३ दिनमा मर्मत भएर नियमित उडानमा फर्किए । एमआरओ कम्पनीको चरम लापरबाहीका कारण दुईवटा वाइडबडी अतिरिक्त १०५ दिन (मर्मतका ६० दिनबाहेक) इटालीको नेपोल्समा थन्किए । यो अवधिमा निगमले करिब एक अर्ब ५८ करोड आम्दानी गुमाएको निगम स्रोतले बतायो ।
‘चाडपर्व र पर्यटकीय सिजनमा वायुयानलाई यात्रु बोक्न भ्याई–नभ्याई हुन्छ, भाडा पनि दुई–तीन गुणासम्म महँगिएको हुन्छ,’ निगम स्रोतले भन्यो, ‘सिजनमा एउटा वाइडबडी ग्राउन्डेड हुँदा औसतमा करिब डेढ अर्ब आम्दानी गुम्छ, यो हिसाबले एक सय पाँच दिन ग्राउन्डेड हुँदा निगमको डेढ अर्बभन्दा बढी आम्दानी गुमेको छ ।’ निगमले वाइडबडी जहाजबाट दिल्ली, जापानको नारिता, दोहालगायत गन्तव्यमा उडान गर्दै आएको थियो । यसबिचमा दुईवटै वाइडबडी ग्राउन्डेड हुँदा नारिता उडान बन्द नै भयो । दिल्लीमा पनि दैनिक एउटा उडान कटौती भएको थियो । नारिता निगमको सर्वाधिक कमाइ गर्ने गन्तव्य हो ।
जहाज समयमै मर्मत भएर उडानमा नफर्किँदा निगमले अतिरिक्त खर्च व्यहोर्नुपर्ने हुन्छ । पहिल्यै टिकट बुकिङ गरिसकेका यात्रुहरूको रि–रुटिङ, होटेलमा राखेको खर्च, क्रु मेम्बरको भत्तालगायतमा ३८ प्रतिशत अतिरिक्त खर्च हुने निगम स्रोतको भनाइ छ । उदाहरणका लागि, वाइडबडीको एउटा उडानमा खचाखच यात्रुले डेढ करोडको टिकट काटेका थिए, तर त्यो उडान भएन । अब ती यात्रुलाई निगमले आफ्नै खर्चमा पाँचतारे होटेलमा राख्नुका साथै अर्को फ्लाइटको व्यवस्था गरी गन्तव्यमा पुर्याउनुपर्छ ।
निगमकै न्यारोबडी जहाजको इन्जिन मर्मतमा पनि पटक–पटक ढिलाइ गर्दा अर्बौँ रुपैयाँ नोक्सानी भइरहेको छ । निगमको इन्जिन महिनौँसम्म मर्मत नहुँदा महँगो भाडाको इन्जिनबाट न्यारोबडी उडाउनुपरेको स्रोत बताउँछ ।
निगमले सोमबार विज्ञप्ति जारी गर्दै वाइडबडी जहाज ९एन–एएलजेड नियमित सि–चेकको मर्मतपश्चात् इटालीबाट फर्किएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इसा) र फेडरल एभिएसन एडमिनिस्ट्रेसन (फा)बाट मान्यताप्राप्त इटालीको मेन्टेनेन्स एन्ड ओभरहल अर्गनाइजेसन–एमआरओ कम्पनी एटिटेकले सि–चेक सम्पन्न गरेर सर्टिफिकेट अफ रिलिज टु सर्भिस (सिआरएस) प्रदान गरेको छ, उक्त जहाज सोमबार बिहान ८ः५२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ ।’
युरोपेली युनियन (इयू)ले नेपाललाई सेफ्टी लिस्टमा राखेको अवस्थामा पनि निगमका दुईवटै वाइडवडी जहाज युरोपको इटालीस्थित नेपल्समा मर्मत–सम्भार सम्पन्न भएको निगमले जनाएको छ । अब निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान गर्ने बताएको छ ।