एनपिएलको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध खेल्ने

मंगलबार, ४ मंसिर, २०८१
डिजिटल संस्करण
एनपिएलको पहिलो खेलमा विराटनगरले जनकपुरविरुद्ध खेल्ने

सुदूरपश्चिम रोयल्सले सोमबार धनगढीको चौराहदेखि रंगशालासम्म आयोजना गरेको र्‍याली

नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच खेल हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार सार्वजनिक गरेको खेल तालिकाअनुसार १५ मंसिरमा विराटनगरले दिउँसो १२:१५ बजे जनकपुरको सामना गर्नेछ । १६ मंसिरमा उपनिर्वाचन भएका कारण क्यानले कुनै पनि खेल समावेश गरेको छ । ६ पुसम्म चल्ने एनपिएलमा आठ फ्रेन्चाइज टोली छन् ।

खेल तालिकाअनुसार पहिलो क्वालिफायर र इलिमिनेटर खेल ३ पुसमा हुनेछ । पहिलो क्वालिफायरमा लिगको शीर्ष स्थानमा रहेको टोली तथा दोस्रो स्थानको टोलीबिचमा प्रतिस्पर्धा हुन्छ । यस खेलमा विजेता टोलीले फाइनल स्थान बनाउनेछ । पराजित टोलीले फाइनल प्रवेशको फेरि मौका पाउने क्यानले जनाएको छ । ४ पुसमा इलिमिनेटर हुने खेलमा हुनेछ । यसमा तेस्रो र चौथो स्थानमा रहने टोलीबिच खेल हुन्छ । पराजित टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । 

जनकपुर बोल्ट्सको जर्सी सार्वजनिक
जनकपुर बोल्ट्सले सोमबार आफ्नो आधिकारिक जर्सी सार्वजनिक गरेको छ । जनकपुरमा भएको कार्यक्रममा जनकपुरले आधिकारिक जर्सी सार्वजनिक गरेको हो । मधेश प्रदेशका खेलकुदमन्त्री प्रमोद जयसवाल र मार्की खेलाडी आसिफ शेखले आधिकारिक जर्सी सार्वजनिक गरेका हुन् । यसैबिच नेपाली यू–१९ क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई ‘फेस अफ द बोल्ट्स’को रूपमा सार्वजनिक पनि गरियो । उनलाई ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानसमेत छ । 

महतोको कप्तानीमा गत साता नेपाली यू–१९ महिला क्रिकेट टोलीले इतिहास रच्दै आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटमा स्थान बनाएको थियो । महतोले आफूलाई फेस अफ द बोल्ट्स बनाएर सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । उनले एनपिएलको पहिलो संस्करणमै मधेश प्रदेशको प्रतिनिधित्व गरिरहेको जनकपुरलाई सफलताको शुभकामना दिइन् । 

एनपिएलका आठ फ्रेन्चाइजमध्ये विराटनगर किंग्स बाहेक सबैले आधिकारिक जर्सी सार्वजनिक गरिसकेका छन् । जनकपुरका प्रशिक्षकमा नेपालका पूर्वप्रशिक्षक पुबुदु दासानायके छन् । 

धनगढीमा सुदूरपश्चिम रोयल्सको र्याली 
धनगढी/ सुदूरपश्चिम रोयल्सले धनगढीको सोमबार चौराहदेखि रंगशालासम्म भव्य र्याली आयोजना गरेको छ । सो र्यालीमा हजारौँ समर्थकको सहभागिता रहेको रोयल्सले जनाएको छ । र्यालीमा टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, मार्की खेलाडी दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, इशान पाण्डे, अमित श्रेष्ठलगायत खेलाडीको सहभागिता थियो । 

र्यालीमा स्थानीय संस्कृति र वेशभूषा झल्कने झाँकी प्रस्तुत गरिएको थियो । रोयल्सले समग्र सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गरेकाले यहाँको स्थानीय संस्कृतिलाई क्रिकेटको माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखेको सिइओ प्रकाश खड्काले बताएका छन् । उनले स्थानीय सहभागिताले टोलीको हौसला बढेको र सुदूरपश्चिमको नाम उच्च बनाउन खेलाडीको मनोबल पनि बढेको महसुस गरेको बताए । सुदूरपश्चिम रोयल्सले केही दिन धनगढीमै रहेर खेलाडीलाई प्रशिक्षण गराउनेछ । सुदूरपश्चिमका मेन्टरमा अस्ट्रेलियाका ब्राड रहेका छन् । 

See More On

सुझावित समाचार