स्तरोन्नतिको काम भइरहेको पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक खण्डमा सोमबार रातिदेखि दैनिक चार घण्टा ३० मिनेट बाटो बन्द गरिने भएको छ । आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकलाई दुई प्याकेजमा विभाजन गरेर पूर्वी र पश्चिम खण्ड नाम दिएर स्तरोन्नतिको काम भइरहेको छ । पूर्वखण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटरको क्षेत्रलाई तोकिएको छ ।
दुई खण्डमध्ये पूर्वी खण्डमा पर्ने तनहुँको व्यास नगरपालिका– १२ स्थित छिर्कनेदेखि देउरालीसम्मको सडक दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको हो । पूर्वी खण्डका इन्जिनियरसमेत रहेका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार प्रत्येक दिन राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक बन्द हुनेछ । राति १ बजेदेखि १:३० बजेसम्म सवारी आवागमन खुला गर्ने र त्यसपछि पुनः बिहान १:३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य थालिने उनले जानकारी दिए । कामलाई तीव्रता दिनका लागि सडक बन्द गर्नुपरेको उनले जानकारी दिए । यस खण्डमा ६८ प्रतिशत काम सम्पन्न भएको छ ।
दोस्रो चरणको कालोपत्र गर्न सुरु
पूर्वी खण्डमा पर्ने ४१.४५ किलोमिटर सडकमध्ये हालसम्म २९ किलोमिटर चार लेन र पाँच किलोमिटर दुई लेन गरी कुल ६३ किमि कालोपत्र गरिएको छ । कालोपत्र नगरिएका स्थानहरूमा समेत कालोपत्र गर्नका लागि काम सुरु गरिएको पाण्डेले बताए । पहिलो चरणको कालोपत्र गरिएको सडकमा दोस्रो चरणको कालोपत्र गर्न सुरु गरिएको हो । उनका अनुसार पहिलो चरणमा ६ सेन्टिमिटर बाक्लो कालोपत्र गरिएकोमा अब दोस्रो चरणमा चार सेन्टिमिटर कालोपत्र गरिने भएको हो । सडकको कालोपत्रको मोटाइ १० सेन्टिमिटर हुनुपर्ने पाण्डेले जानकारी दिए । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोकबाट दोस्रो चरणको कालोपत्र गर्ने काम सुरु भएको हो ।
यसैगरी, यस खण्डमा निर्माण गर्नुपर्ने १४ वटा साना पुल र एक सय तीन कल्भटको निर्माण कार्य सकिँदा दुई ठूला पुल निर्माणका क्रममा रहेका छन् ।
पूर्वी खण्डको निर्माणको जिम्मा २ वैशाख ०८१ सम्म सक्ने गरी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको थियो । ६ अर्ब २१ करोड ३१ लाख १३ हजार चार सय ७७ रुपैयाँ ४३ पैसामा निर्माण गर्ने गरी कम्पनीले १४ माघ ०७७ मा ठेक्का सम्झौता गरेको थियो ।