इटालीमा सम्पूर्ण मर्मत ‘सि–चेक’का लागि पठाएको नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी जहाज ‘९एन–एलजेड’ ८२ दिनपछि सोमबार काठमाडौं फर्किने भएको छ । जहाज राति इटलीको नेपोल्सबाट उड्ने र सोमबार बिहान ९ः२० बजे विमानस्थलमा अवतरण गर्ने तालिका रहेको नेवानि स्रोतले बताएको छ ।
इटालीको नेपोल्सबाट उडेको जहाज सीधै काठमाडौंमा अवतरण गर्ने तालिका छ । क्याप्टेन विशाल देवान, क्याप्टेन भोगेन्द्र कठायत, एयर होस्टेस जुनु सिराललगायतको टोलीले इटालीबाट जहाज ल्याउने बताइएको छ । ‘जहाज हिजो राति नै तयार भइसकेको थियो, क्रु मेम्बरको रेस्ट आवर मिलाउँदा उड्न ढिला भएको छ,’ स्रोतले भन्यो, ‘सोमबार बिहान १० बजेभित्र जहाज काठमाडौं अवतरण गर्नेछ ।’
निगमले सि–चेकका लागि १२ भदौमा इटाली पठाएको थियो । मर्मत–सम्भार कम्पनी एटिटेक एसपिएसँग भएको सम्झौताबमोजिम जहाज ३० दिनमा अर्थात् ११ असोजमा सि–चेक गरेर हस्तान्तरण गरिसक्नुपर्ने थियो । तर, इटालियन कम्पनीले सि–चेकमा ढिलासुस्ती गरिदिँदा जहाज ५२ दिन ढिलो गरी सोमबार काठमाडौं फर्किँदै छ । व्यस्त सिजनमा जहाज इटालीमा थन्किँदा अन्तर्राष्ट्रिय उडानतालिका नै अस्तव्यस्त बनेको छ ।