श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायके राजधानी कोलम्बोको मराडानामा अवस्थित अबेसिंघारास्थित एक मन्दिरमा रहेको मतदान केन्द्रबाट बाहिरिँदै थिए । त्यही केन्द्रमा मत दिन आएका ५६ वर्षीय अब्दुल रहमान सेयादु सुलेमान दिसानायकेलाई बोलाउँदै उनीतर्फ दौडिए । सुलेमान दिसानायकेलाई आफ्नो गुनासो सुनाउन चाहन्थे । प्रहरीले सुरक्षाको मध्यनजर गर्दै सुलेमानलाई राष्ट्रपतिको नजिक जान दिएनन् । सुलेमानले पछि पत्रकारसँग भने, ‘म दिसानायकेले मेरो समुदायको पीडा सुनून् भन्ने चाहन्छु । यसअघिको सरकारले कोभिड– १९ महामारीको समयमा हाम्रा बालबच्चाको दाहसंस्कार गर्दा मैले विरोध जनाएको थिएँ । म आफ्नो धर्मको तर्फबाट बोल्दै छु । मुस्लिम सम्प्रदायमाथि अन्याय भएको छ ।’
दिसानायकेले उनका पूर्ववर्तीले दिन नसकेकोे न्याय दिलाउलान् भन्ने सुलेमानको आशा छ । सुलेमानको मात्रै होइन, गत सेप्टेम्बरमा सम्पन्न राष्ट्रपति चुनावमा जितेका मध्य–वामपन्थी नेता अनुरा कुमारा दिसानायकेप्रति अधिकांश श्रीलंकालीले आशाका नजरले हेरेका छन् । गत बिहीबारको संसदीय निर्वाचनपछि यी युवा राष्ट्रपतिको वास्तविक परीक्षण सुरु हुने भएको छ । दिसानायकेको ‘नेसनल पार्टिज पावर(एनपिपी)’ले बिहीबार सम्पन्न संसदीय निर्वाचनमा भारी बहुमत प्राप्त ग¥यो ।
श्रीलंकाले सन् १९७७ मा समानुपातिक प्रतिनिधित्वका आधारमा संसदीय चुनाव गराउन थालेपछि पहिलोपटक एउटै दलले स्पष्ट बहुमत हासिल गरेको छ । अझ राष्ट्रपतिको दलसँग गठबन्धन साझेदारविनै दुईतिहाइ सिट रहेकाले अब उनले संसद्बाट आफूलाई चाहेको जुनसुकै कानुन पारित गराउन सक्छन् ।
२२५ सिटको संसद्का लागि भएको निर्वाचनमा एनपिपीले १५९ सिट प्राप्त गर्दै सहज दुईतिहाइ बहुमत हात पारेको छ । सजिथ प्रेमदासाको नेतृत्वमा रहेको पार्टी ‘समगी जन बालवेगया (एसजेबी)’ले ४० सिट जित्न सक्यो । पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेको ‘न्यु डेमोक्रेटिक फ्रन्ट’ले पाँच सिट जितेको छ भने पछिल्लो दुई दशक श्रीलंकाली राजनीतिमा प्रभुत्व जमाएको राजपाक्षे परिवारको ‘श्रीलंका पोदुजाना पेरामुना (एसएलपिपी)’ले जम्मा तीन सिट मात्रै जित्न सक्यो । कोलम्बोबाट उम्मेदवारी दिएर जितेका एनपिपीका एक नेता समनमाली गुणासिंघेले चुनावी नतिजापछि टिपप्णी गर्दै भने, ‘अब हामीले जनताको पक्षमा काम गर्ने बाटो खुलेको छ । यसमा हामी खुसी छौँ । उनीहरूले पुरानो राजनीतिबाट परिवर्तन चाहेको देखाएका छन् ।’
परिवर्तनका लागि मतदान
राजनीतिक विश्लेषक अरुणा कुलतुंगाका अनुसार सन् १९७७ मा श्रीलंकाले संसदीय चुनावका लागि समानुपातिक प्रतिनिधित्व चुनेपछि पहिलोपटक एउटै दलले स्पष्ट बहुमत हासिल गरेको छ । त्यस्तै पहिलो पटक, सत्तासीन राष्ट्रपतिसँग कुनै सहयोगी दल वा गठबन्धन साझेदारविनै दुईतिहाइ सिट रहेकाले अब उनले संसद्बाट चाहेको कानुन पारित गराउन सक्छन् । ‘यस नतिजाको महŒव के हो भने नश्लीय, धार्मिक र वैचारिक आधारमा विभाजित श्रीलंकाको राजनीतिक संरचना एउटै पार्टीपछाडि एकतावद्ध भएको छ ,’ कुलतुंगाले भने ।
सरकारले विशेष गरी गृहयुद्धको समयमा सेना र अन्य सरकारी विभागले कब्जामा लिएको भूमि फिर्ता गर्नुपर्छ । पटक–पटक जातीय घृणाको सामना गर्दै आएका देशका अल्पसंख्यक तमिल र मुस्लिमहरूको चिन्तालाई सरकारले सम्बोधन गर्नैपर्छ ।
गठबन्धन सरकारमा लेनदेनका कारण विगतका सत्तारूढ पार्टीहरूले चुनावमा गरेका वाचाहरू पूरा गर्न सक्दैनथे । तर, यसपटक दुईतिहाइ बहुमतका साथ दिसानायकेले अब संविधान नै संशोधनसमेत गर्न सक्छन् । एपिपीले यसअघि नयाँ संविधानका लागि जनमतसंग्रह गराउने वाचा गरेको थियो । एपिपीबाट आममानिसले धेरै अपेक्षा गरेका छन् । दिसानायकेको माक्र्सवादी ‘जनता विमुक्ति पेरामुना’को नेतृत्वमा रहेको एनपिपीमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेको सरकारविरुद्ध भएको विरोध प्रदर्शनको क्रममा एकताबद्ध भएका नागरिक समाजसहित विभिन्न संगठन आबद्ध छन् ।
कोलम्बोको देहिवाला क्षेत्रका दैनिक ज्याला–मजदुरी गर्ने ३८ वर्षीय वसन्त राजले आफ्नो क्षेत्रबाट चुनाव लड्ने एनपिपीका उम्मेदवारहरूको नाम थाहा नभए पनि गठबन्धनलाई नै मत दिएको बताए । ‘हामीले वर्षौँदेखि उही मानिसलाई मत दिइरह्यौँ, तर केही बदलिएन । यसपटक एनपिपीले के गर्दोरहेछ हेरौँ भनेर तिनलाई मत दिएका छौँ ,’ राजले भने । सन् २०२२ मा राजपाक्षे सरकारविरुद्ध उठेको विरोध प्रदर्शनपछि राष्ट्रिय चर्चामा आएका दिसानायकेले यस चुनावमा देशको अर्थतन्त्र बलियो बनाउने र व्यापक भ्रष्टाचारविरुद्ध लड्ने वाचा गरेका थिए । सन् २०२२ मा आममानिस राजपक्षे परिवारको नेतृत्वमा श्रीलंकाको अर्थतन्त्रको पतन भएकोप्रति क्रुद्ध थिए, जुन शासनको नेतृत्व गोटाबाया राजपाक्षेले गरेका थिए भने प्रशासनिक नेतृत्व प्रधानमन्त्रीका रूपमा उनकै जेठादाइ महिन्दा राजपाक्षेले गरिरहेका थिए । आन्दोलनको दबाबमा राजपाक्षेका दाजुभाइले सत्ता छाडेपछि पदभार ग्रहण गरेका विक्रमासिंघेले आफ्नो ध्यान अर्थतन्त्रलाई स्थिर बनाउन प्रयोग गरे । अर्थतन्त्र सुधार्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र अन्य ऋणदाताबाट ऋण लिइयो । तर आइएमएफसँगको सम्झौताअनुरूप बजेटमा ठुलो कटौती गर्दा सामाजिक सुरक्षाका कैयौँ पक्ष कटौतीमा परे । कर बढे । यसले आमजनताको कठिनाइ थप बढ्यो ।
कोलम्बोको देमाटागोडास्थित मतदान केन्द्रमा आफ्नी ८३ वर्षीया आमासँगै मत हाल्न पुगेकी ६३ वर्षीया एमएफ सरिनाले नयाँ सरकारले भ्रष्टाचारविरुद्ध लड्ने र गरिबलाई राहत दिने आशा व्यक्त गरिन् । ‘मेरी आमा बिरामी हुनुहुन्छ । उमेरको कारण उनी ममाथि आश्रित छिन् । तर, हामीलाई अहिले हरेक दिन गुजारा चलाउन गाह्रो भएको छ । खाद्यान्नको मूल्य अकासिएको छ । औषधिहरू महँगिएर किन्न सकिँदैन । परिस्थिति चाँडै बदलियोस् भन्ने हामी आशा गर्छौँ,’ सरिनाले भनिन् ।
शुक्रबार, निर्वाचनका सबै नतिजा घोषणा भएपछि एनपिपीका सचिव निहाल अबेसिंघेले पार्टीमाथि आमजनताको आशाको ठुलो भार थपिएको स्वीकार गरे । पत्रकार सम्मेलनमा बौल्ने क्रममा उनले भने, ‘हामी के कुराको सुनिश्चित गराउँछौँ भने हामी विगतका मानिसले जस्तै शक्तिको दुरुपयोग गर्नेछैनौँ ।’
तमिलको समर्थन
देशको उत्तरी भागमा सघन बसोवास रहेको तमिल समुदायले यसपटक विगतको प्रवृत्तिविपरीत तमिल पार्टीलाई नभएर एनपिपीलाई मत दिएका छन् । त्यस भागमा एनपिपीले बहुमत सिट जितेको छ । सन् २००९ मा अन्त्य हुनुअघि तीन दशकसम्म चलेको तमिल विद्रोही र श्रीलंकाली सेनाबिचको गृहयुद्धको सबैभन्दा रक्तपातपूर्ण लडाइँ यही उत्तर र पूर्व भागमा लडिएका थिए । सन् २००९ मा महिन्दा राजपाक्षेको शासनमा सेनाले तमिल विद्रोहीका नेतृत्वलाई समूल नष्ट गरेपछि तमिल विद्रोह टुंगिएको थियो ।
जाफ्ना विश्वविद्यालयका समाजशास्त्रका अध्यापक अहिलन कादिरगामरका अनुसार संसदीय चुनाव नजिकिँदै जाँदा उत्तरका तमिल समुदायमाझ एनपिपीप्रति समर्थनको स्पष्ट लहर उर्लिएको देखिएको थियो । प्रायः तमिल मतदाताहरू आफ्ना वाचा पूरा गर्न असफल भएकोमा आफ्ना समुदायका नेताहरूप्रति क्रुद्ध थिए । अब, एनपिपीको कठिन परीक्षा सुरु हुने कादिरगामरले बताए । उत्तर र पूर्वका जनताको चिन्तालाई सम्बोधन गर्न श्रीलंका सरकारले विशेष गरी गृहयुद्धको समयमा सेना र अन्य सरकारी विभागले कब्जामा लिएको भूमि फिर्ता गर्नुपर्छ । पटक–पटक जातीय घृणाको सामना गर्दै आएका देशका अल्पसंख्यक तमिल र मुस्लिमहरूको चिन्तालाई सरकारले सम्बोधन गर्नैपर्ने, तर यो काम निकै कठिन भएको अध्यापक कादिरगामरले भने । – अल जजिराबाट
(श्रीलंकामा बसेर पत्रकारिता गर्ने आन्या स्पेनिस समाचार एजेन्सी ‘एजेन्सिया इएफए’मा आबद्ध छिन् ।)