उपनिर्वाचनमा ४२ स्थानमा एमालेको उम्मेदवारी

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

एमालेले १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नगरपालिका र गाउँपालिकासहित ४२ स्थानमा उम्मेदवारी दर्ता गरेको छ। 

एमालेबाट काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा डा. सुरेन्द्र मानन्धर, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेलीमगर शेर्पा, दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा जंगबहादुर शाहीले उम्मेदवारी दर्ता गरेका छन्।
 
यस्तै, रुकुम पूर्वको पुथागंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन, जाजरकोटको नलगाढ नगरको उपमेयरमा सुनिता बोहोरा, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा जाना शाही र बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा सुलोचना भण्डारीले उम्मेदवारी दर्ता गरेकी छिन्। पुथागंगाको उपाध्यक्षमा तुलाचनले कांग्रेसको रुख चिह्नबाट उम्मेदवारी दर्ता गरेकी छिन्। उनी एमाले पूर्वी रुकुमकी उपसचिव पनि हुन्। यद्यपि, एमालेले आफ्नै उम्मेदवार भएको सूचीमा सार्वजनिक गरेको छ। 

केन्द्रीय सदस्य तथा निर्वाचन विभाग प्रमुख नीरज आचार्यले एकल स्वच्छ प्रतिस्पर्धा गर्ने केन्द्रको नीति रहे पनि पूर्वी रुकुममा भने जिल्लास्थित दुईदलीय राजनीतिक संयन्त्रमा भएको सहमतिअनुसार तुलाचनले रुख चिह्नबाट उम्मेदवारी दिएको जानकारी पाएको बताए। 

उपत्यकाभित्र काठमाडौंको कीर्तिपुर–१ को वडाध्यक्षमा बद्री बुढाथोकी, वडा नम्बर ४ मा हर्ष महर्जनले उम्मेदवारी दर्ता गरेका छन् भने काठमाडौं महानगरको १६ बाट लक्ष्मीरत्न मानन्धरले उम्मेदवारी दर्ता गराएका छन्। 

सुझावित समाचार