खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका– ११ खार्मीस्थित बोहोरीबोटका स्थानीयवासीले देउसीभैलोमा संकलित रकमबाट विपत् व्यवस्थापन कोष स्थापना गरेका छन्। बोहोरीबोटस्थित स्थानीय लालीगुराँस टोल विकास समितिमा आबद्ध ६० घरपरिवारले भैपरी आउने घटनामा परेकालाई तत्काल उद्धार तथा राहत उपलब्ध गर्ने–गराउने उद्देश्यले देउसीभैलोमा संकलन भएको रु. एक लाख दुई हजार रकमबाट विपत् व्यवस्थापन कोष स्थापना गरेका हुन्।
आगामी दिनमा कम्तीमा रु. २५ लाखको मौजुदा रकम बनाउने गरी पहिलो चरणमा देउसीभैलोमा संकलित रकमबाट विपत् व्यवस्थापन कोष स्थापना गरिएको टोल विकास समितिका अध्यक्ष दिलकुमार राईले जानकारी दिए। ‘विपत् आइपर्छ भनेर कसैले पनि बचत गरेर राखेका हुँदैनन्। परेको वेला सबैसँग पैसा हुन्छ भन्ने पनि छैन,’ उनले भने, ‘आफूसँग बचत नहुँदा धेरै घरपरिवारले दुःख पाएका छन्। आगामी दिनमा त्यस्तो नहोस् भनेर विपत् व्यवस्थापन कोष स्थापना गरेका हौँ। घटनाको प्रकृति तथा पीडितको अवस्था हेरेर राहत तथा सापटी दिइनेछ।’
विपत् व्यवस्थापन कोष स्थापना गर्ने भनेर तिहारमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा स्थानीयवासीले स्वतःस्फूर्त रूपमा दान गर्दा रु. एक लाख दुई हजार रकम जम्मा भएको थियो। त्यसैमा क्रमिक रूपले थप्दै लाने गरी स्थापना गरिएको कोषका लागि बोहोरीबोटमा जन्मिएर रोजगारी, अध्ययन तथा विभिन्न पेसा–व्यवसाय गर्न विभिन्न देशमा पुगेकाहरूले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका अध्यक्ष राईले जानकारी दिए।
रोजगारीको सिलसिलामा विभिन्न देशमा कार्यरत रहेका स्थानीयवासीहरूलाई संयोजक तोकेर विपत् व्यवस्थापन कोषका लागि रकम संकलन अभियानसमेत सुरु गरिएको छ। अभियानअन्तर्गत स्लोभाकिया पुगेका स्थानीय जयकुमार राईको नेतृत्वमा संकलन भएको रु. १४ हजार ५०० कोषमा जम्मा भइसकेको समितिकी कोषाध्यक्ष इन्द्रकला राईले जानकारी दिइन्।
कोषमा जम्मा भएको रकम वृद्धि गर्दै लैजान समितिभित्रका स्थानीयवासीलाई घुम्ती कोषको रूपमा पहिलो चरणमा रु. ३० हजारसम्म ऋण दिने निर्णयसमेत गरिएको समितिका सचिव राजेन्द्र मगरले जानकारी दिए। ‘विपत् व्यवस्थापन कोषको ऋण लिने स्थानीयवासीले आम्दानीको स्रोत वृद्धि गर्ने कुनै न कुनै व्यवसाय सञ्चालन गर्नुपर्ने नियम बनाइएको छ। यसले स्थानीयवासीलाई आत्मनिर्भर हुने अवसरसमेत मिल्छ,’ उनले भने, ‘ऋण लिएर तोकिएको समयमा नबुझाएको खण्डमा हर्जनासहित असुल गर्ने नियम बनाएका छौँ। सबै कुरा पहिले नै अवगत गराएर ऋण दिने निर्णय गरिएको छ।’
बोहोरीबोटका स्थानीयवासीले यसअघिदेखि नै प्रत्येक घरबाट मासिक रु. ३० संकलन गरेर सामाजिक काम गर्दै आएका छन्। सामाजिक काममा खर्च भएर बचेको रकमसमेत कोषमा नै जम्मा गरेर ऋण दिने गरिएको छ। आफ्नो गाउँमा हुने सानातिना कामका लागि आफैँ आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यताअनुसार मासिक रु. ३० संकलन गरेर सामाजिक काममा खर्च गर्ने गरिएको समितिका अध्यक्ष राईले जानकारी दिए। ‘अहिले स्थापना गरिएको विपत् व्यवस्थापन कोषमा यो मासिक रूपमा संकलन गरिने रु. ३० मिसाउँदैनौँ। यो छुट्टै कामका लागि उपयोग हुन्छ,’ उनले भने, ‘सुरुमा मासिक रु. १० संकलन गर्थ्याैँ। अहिले मासिक रु. ३० पुर्याइएको छ। त्यही कोषमा जम्मा भएको रकमबाट एउटा सामुदायिक भवनसमेत बनाएर सञ्चालन गरेका छौँ।’
नौ घर मगर र ५१ घर राई परिवारको बसोवास रहेको बोहोरीबोटमा हुने हरेक काजभोज तथा सांस्कृतिक कार्यक्रम आपसी सहकार्यमा गर्ने गरिएको छ। गाउँमा हुने विवाह, छेवर, पास्नी, गुन्युचोली तथा मृत्यु कार्यमा आयोजना गरिने भोजभतेरमा प्रयोग हुने भाँडाकुँडा, साउन्डसिस्टम, स्ट्रेचरलगायतका सामग्रीसमेत आफैँले संकलन गरेको रमकले खरिद गरिएको छ।