पछिल्लो समयमा समग्र नेपाली चलचित्रप्रति नेपाली दर्शकको आकर्षण बढेको हो ?
राम्रा चलचित्रप्रति नेपाली दर्शकको आकर्षण जहिल्यै देखिन्थ्यो । विगतमा एउटा चलचित्र मजाले चल्यो भने धेरै चलचित्र चल्दैनथे । त्यसले गर्दा नेपाली सिने उद्योग लिकमा छैन भन्ने गरिन्थ्यो । समय बित्दै जाँदा फिल्म मेकरहरू विशेष सचेत हुँदै गए । नेपाली चलचित्रका दर्शक पनि विशेष पारखी बन्दै गए । जसले गर्दा विभिन्न ट्रेन्डमा चलचित्र बन्न थाले । विगतमा जस्तो चलचित्र चल्थ्यो त्यस्तै ट्रेन्डको चलचित्र बन्ने क्रम चल्थ्यो । त्यसबाट दर्शकले फरक स्वाद पाउँदैनथे । तर, गत चैतयताको मात्र ट्रेन्ड हेर्ने हो भने पनि फरक फरक स्वादका महाजात्रा, बोक्सी, पुजार सार्की, १२ गाउँ, पूर्णबहादुरको सारंगीलगायत चलचित्रले दर्शकको अपार साथ पाए । यसबाट के देखिन्छ भने राम्रा चलचित्र बने भने दर्शकले जहिल्यै साथ दिन्छन् ।
अहिलेका दर्शकलाई नेपाली चलचित्र हेर्न हलसम्म केले तानिरहेको छ ?
दर्शकलाई यसैले तानिरहेको छ भन्न सकिन्न । तर, समग्र फिल्म मेकिङ राम्रो भयो भने दर्शकले माया गर्छन् । कथा, अभिनय, प्रस्तुतिलगायत पक्ष सशक्त नभई दर्शकलाई कुनै पनि चलचित्रले हलसम्म तान्न सक्दैन । त्यसैले, पछिल्लो समयमा आएका चलचित्रको समग्र मेकिङ पक्षले नै दर्शकलाई हलसम्म तानिरहेको देखिन्छ ।
भविष्यमा पनि हलहरूमा दर्शकलाई तानिराख्न के गर्नुपर्ला ?
सबैभन्दा पहिले एउटा कुनै स्वादको फिल्म चल्यो भनेर सोही स्वादलाई बारम्बार पस्किने गल्ती मेकरले गर्नुहुँदैन । पछिल्ला समयमा चलेका या दर्शकको माया पाएका चलचित्र हेर्दा सबै भिन्नभिन्न स्वादका छन् । दर्शक फरक स्वादका पारखी छन् । जुनसुकै ‘जन्र’को चलचित्र बनाए पनि त्यसलाई भिन्न स्वादमा पस्कन सकेमा दर्शकलाई हलसम्म तान्न कठिन हुँदैन ।