स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन

आइतबार, २ मंसिर, २०८१
डिजिटल संस्करण

२ जिसस प्रमुख, १–१ मेयर–उपमेयर, २ अध्यक्ष, ४ उपाध्यक्ष र ३४ वडाध्यक्ष गरी ४४ पदमा निर्वाचन हुँदै

आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ । 

निर्वाचन आयोगकी सहायक प्रवक्ता नीता पोखरेल अर्यालले मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताइन् । निर्वाचन कार्यतालिकाअनुसार आइतबार नै साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । 

सोही दिन उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । ५ मंसिरको बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन अन्तिम नामावली प्रकाशित गरी उम्मेदवारलाई चुनावचिह्न प्रदान गर्ने कार्यक्रम छ । 

स्थानीय तहमा विभिन्न कारणले रिक्त जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३४ वडाध्यक्ष गरी ४४ पदमा निर्वाचन हुँदै छ । रिक्त स्थानमध्ये कांग्रेसले २७ स्थान, एमालेले आठ, माओवादीले सात, जसपाले एक र एक स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका छन् ।

स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेस, एमाले, माओवादी र रास्वपासहित २५ वटा दल दर्ता भएका छन् । रास्वपा पहिलोपटक स्थानीय तहमा लड्दै छ ।

काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णमान डंगोल, एमालेका सुरेन्द्र मानन्धर, माओवादीका शिवशरण महर्जन र राप्रपाका ध्रुव महर्जनले उम्मेदवारी दर्ता गर्दै छन् । अन्य दल र स्वतन्त्रबाट पनि उम्मेदवारी दर्ता गर्ने तयारी छ । गत निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी विजयी भएका थिए । 

यस्तै, काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार टुंग्याउन बाँकी छ । एमालेका लक्ष्मिरत्न तुलाधर, माओवादी दिलिपराज वन्त, रास्वपाकी रोजिना श्रेष्ठ, राप्रपाबाट श्यामकृष्ण श्रेष्ठ, एकीकृत समाजवादीबाट मिनबहादुर मानन्धरलगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ मतदाता छन् । उपनिर्वाचन हुने स्थानीय तहमा १,११,८९६ महिला र १,१४,९०० पुरुष र तीन अन्य मतदाता छन् । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन् । उपनिर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतहरूको नियुक्त गरिसकेको छ । 

आयोगका अनुसार ओखलढुंगा र कैलालीका जिसस प्रमुख रिक्त छन् । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख रिक्त छ । मोरङको ग्रामनाथ गाउँपालिका र दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष रिक्त छ । जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पद रिक्त छ । 

झापाको कन्काई नगरपालिका– ६, ताप्लेजुङको सिरिजंगा–३, तेह्रथुमको लालीगुराँस नगरपालिका– ८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका– ५, उदयपुरको त्रियुगा गाउँपालिका– १२, बेलका नगरपालिका– ८, सप्तरीको डाक्नेश्वरी नगरपालिका– १ र ४, रौतहटको राजपुर–६, गढीमाई नगरपालिका– ८, काठमाडौंको कीर्तिपुर नगरपालिका– १ र ४, काठमाडौं महानगरपालिका– १६, नुवाकोटको ककनी गाउँपालिका– २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १२, गोरखाको गोरखा नगरपालिका– ५, रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष र १ नम्बर वडाध्यक्ष, कपिलवस्तु शुद्धोधन गाउँपालिका– १ गुल्मीको मुसिकोट नगरपालिका– १ मा वडाध्यक्ष पदमा उपनिर्वाचन हुनेछ । 

यसबाहेक रोल्पाको रुन्टिगढी गाउँपालिका– ४, बर्दियाको ठाकुरबाबा नगरपालिका– ४, दैलेखको दुल्लु नगरपालिका– १३, कालीकोटको तिलागुफा नगरपालिका– ४, जाजरकोटको कुशे गाउँपालिका– ७, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– ५, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– ५, बझाङको सुर्मा गाउँपालिका– ४, डोटीको पूर्वीचौकी गाउँपालिका– ६, दार्चुलाको दुहुँ गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ मा वडाध्यक्ष पदमा पनि उपनिर्वाचन हुनेछ । 

काठमाडौंमा माओवादी र नेकपा एसबिच तालमेल
माओवादी र एकीकृत समाजवादीले १६ मंसिरमा हुने उपनिर्वाचनमा काठमाडौंमा तालमेल गरेका छन् । सहमतिअनुसार काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरमा माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनलाई एकीकृत समाजवादीले सघाउनेछ र काठमाडौं– १६ को वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार मीनबहादुर मानन्धरलाई माओवादीले समर्थन गर्नेछ । माओवादी उपाध्यक्ष अग्निप्रसाद सापकोटा र एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेबिच शनिबार चुनावी तालमेलबारे सहमति भएको छ । 

सुझावित समाचार